Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

शीतलहरका कारण चिप्लो बनेको दाउन्ने सडक १४ घण्टादेखि अवरुद्ध

शीतलहरका कारण चिप्लो बनेको दाउन्ने सडक १४ घण्टादेखि अवरुद्ध

बुटवल : शीतलहरका कारण बाटो चिप्लो बनेपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा १४ घण्टादेखि सवारी आवागमन अवरुद्ध भएको छ। दाउन्ने पहाडको उकालो र ओरालो भागमा शीतलहरले बाटो भिजेपछि सवारीसाधन चिप्लिएर चल्न नसक्दा सडक पूर्ण रूपमा ठप्प भएको हो।

लामो समयदेखि सडक अवरुद्ध हुँदा सवारीसाधनको ठूलो जाम लागेको छ भने यात्रुहरू समस्यामा परेका छन्। काठमाडौंबाट बुटवलतर्फ आउँदै गरेका यात्रु विनोद परियारले आफू १४ घण्टादेखि दाउन्नेमा अलपत्र परेको गुनासो गरे।

इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद काफ्लेका अनुसार शीतलहरका कारण सडक अत्यन्तै चिप्लो बनेपछि सवारीसाधन चल्न नसकेका हुन्। “आइतबारदेखि नै समस्या देखिएको थियो,” उनले भने, “हिजो साँझदेखि भने सडक पूर्ण रूपमा ठप्प छ। विशेषगरी नवलपरासी पश्चिम खण्डमा समस्या बढी देखिएको छ। सडक खुलाउने प्रयास जारी छ।”

निर्माणाधीन बुटवल–नारायणगढ ११४ किलोमिटर सडकखण्डको अधिकांश स्थानमा आवागमन सहज रहे पनि दाउन्ने क्षेत्रमा अझै निर्माण कार्य बाँकी रहेको छ। दाउन्नेमा वान–वे बनाएर सडक विस्तारको काम भइरहेकाले ओभरलोड सवारीसाधन बिग्रिने समस्या पनि देखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट