चितवन : देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भरतपुर महानगरपालिका–३ को आगामी चार वर्षे कार्यकालका लागि अर्जुन अधिकारीको नेतृत्वमा नौ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ।
संस्थाको आइतबार सम्पन्न १७औँ वार्षिक साधारण सभा तथा सातौँ निर्वाचन कार्यक्रमले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो। निर्वाचनबाट केदारनाथ गौतम उपाध्यक्ष, मिठु गौतम सचिव र कमलकान्त शर्मा कोषाध्यक्षमा निर्वाचित भएका छन्।
त्यसैगरी, सञ्चालक समितिका सदस्यहरूमा हिमा कँडेल, रञ्जिता थापा रेग्मी, बुद्धिसागर सापकोटा, कमलादेवी पौडेल र प्रकाश तिवारी निर्वाचित भएका छन्।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा यादवप्रसाद रिमाल तथा सदस्यहरूमा दुर्गा खरेल पाण्डे र राजु मिजार निर्वाचित भएका छन्।
संस्थाका अध्यक्ष नवीन रिजालको अध्यक्षतामा सम्पन्न साधारण सभाले सचिव मिठु गौतमले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा विविध प्रस्ताव र कोषाध्यक्ष कमलकान्त शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
सभाले संस्थाको आगामी वर्षको वार्षिक योजना तथा बजेटमाथि छलफल गरी अनुमोदनसमेत गरेको छ। कार्यक्रममा शेयर सदस्यहरूले संस्थाका विभिन्न गतिविधि तथा भावी योजनासम्बन्धी जिज्ञासा राखेका थिए।
भरतपुर महानगरपालिका–३ का वडाध्यक्ष विकास थापाको प्रमुख आतिथ्यता तथा संस्थापक अध्यक्ष अजय घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा पूर्वअध्यक्षद्वय डा. सुदीप वाग्ले र प्रदीप वाग्ले, पूर्वअध्यक्ष तथा वर्तमान अध्यक्ष कुमानसिंह खड्का र लेखा समिति संयोजक महादेव पौडेल अतिथिका रूपमा सहभागी थिए।
विसं २०२६ सालमा स्थापना भएको देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘उत्कृष्ट देउराली सहकारी, समृद्ध सदस्य हाम्रो जिम्मेवारी’ भन्ने लक्ष्यसहित बचत तथा ऋणको कारोबार सञ्चालन गर्दै आएको छ। हाल संस्थामा १ हजार ४७ जना शेयर सदस्य रहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij