काठमाडौं : असोज २ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिँगेदाउ २’ले दोस्रो सातामा पनि दर्शकको उत्साहजनक साथ पाइरहेको छ। पारिवारिक कथा र मनोरञ्जनात्मक प्रस्तुतिका कारण चलचित्र दर्शकको रोजाइमा परेको निर्माण पक्षको दाबी छ।
वितरकका अनुसार चलचित्रले प्रदर्शनको पहिलो सातामा करिब डेढ करोड रुपैयाँको व्यापार गरेको छ। दोस्रो साताको शनिबार पनि विभिन्न हलमा दर्शकको उपस्थिति उत्साहजनक रहेको र केही हलमा शो संख्या समेत बढेको वितरकले जनाएको छ।
पहिलो साताको व्यापार र दोस्रो सातामा देखिएको दर्शकको चापले निर्माण टोली उत्साहित बनेको छ। दर्शकले चलचित्रको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति तथा गीतसंगीतको प्रशंसा गरिरहेका छन्। चलचित्र हेर्दा कतिपय दृश्यमा हाँसो र केही भावनात्मक क्षणमा आँसु आएको प्रतिक्रिया दर्शकले दिएका छन्।
सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमले लिएका दर्शक प्रतिक्रियामा समेत केही दर्शक चलचित्र हेरेपछि भावुक हुँदै हलबाट बाहिरिएको देखिन्छ।ज्ञानेन्द्र देउजाको निर्देशन रहेको चलचित्रको कथा जेठानी र देउरानीबीचको विवादबाट सुरु हुने पारिवारिक कलहको वरिपरि घुम्छ। सामान्य देखिने पारिवारिक विवाद कसरी ठूलो द्वन्द्वमा परिणत हुन्छ र त्यसले परिवारका सदस्यबीचको सम्बन्धमा कस्तो असर पार्छ भन्ने विषयलाई चलचित्रले मनोरञ्जनसँग जोडेर प्रस्तुत गरेको छ।
चलचित्रले पारिवारिक कलहसँगै आमाको महत्त्व, माया र त्यागलाई पनि कथाको महत्वपूर्ण पक्ष बनाएको छ। यही भावनात्मक पक्षले दर्शकलाई कथासँग जोड्न सफल भएको निर्माण पक्षको भनाइ छ।
चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायत कलाकारको अभिनय छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रमा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ। कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्मित चलचित्रमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी छ।रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता रहेको चलचित्रमा विष्णु घिमिरे ‘कल्पित’को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत तथा रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ।