उदयपुर : कटारी क्षेत्रमा टिपर सञ्चालनमा रोक लगाइएको विरोधमा व्यवसायीहरूले प्रदर्शन गरेका छन् । उनीहरूले मदन भण्डारी राजमार्गअन्तर्गत कटारी सडकखण्डमा टिपर तेर्स्याएर सडक अवरुद्ध गरेका हुन् ।सिमेन्टको खानीबाट चुनढुंगा ढुवानी गर्ने टिपर सञ्चालनलाई लिएर स्थानीयवासी र व्यवसायीबीच विवाद बढ्दै गएपछि व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।स्थानीयको विरोधका कारण चुनढुंगा उत्खनन तथा ढुवानी प्रभावित भएपछि आफूहरूको व्यवसाय संकटमा परेको व्यवसायीहरूको भनाइ छ । उनीहरूले कानुनी र व्यवस्थित रूपमा टिपर सञ्चालन गर्न दिनुपर्ने, चुनढुंगा ढुवानी रोक्न नहुने तथा आफ्नो रोजगारी र लगानीको संरक्षण गर्नुपर्ने माग राखेका छन् ।
यसअघि पनि कटारी नगरपालिका–४ स्थित सिम्ले बजार क्षेत्रमा टिपर व्यवसायीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । उनीहरूले टिपर सडकमा तेर्स्याएर सिद्धिचरण लोकमार्गसमेत अवरुद्ध गरेका थिए । प्रहरीले हस्तक्षेप गरी केही समयपछि सडक खुलाएको थियो ।यता स्थानीयवासीले भने बस्ती हुँदै भारी टिपर सञ्चालन गर्दा सडक, वातावरण र स्थानीय जनजीवनमा असर परेको भन्दै वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने माग गर्दै आएका छन् ।
कटारी नगरपालिका–७ मर्जेतपुर क्षेत्रका स्थानीयले चुनढुंगा ढुवानीका लागि मरुवा–नैनखाडी–आहालेतर्फको सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्नुपर्ने माग अघि सारेका छन् ।टिपर व्यवसायीको प्रदर्शन र स्थानीयको विरोधका कारण कटारीमा चुनढुंगा ढुवानीको विषय थप विवादित बनेको छ । व्यवसायीले सडक अवरुद्ध गरेपछि कटारी बजार प्रवेश गर्ने सडकसमेत प्रभावित भएको छ । यात्रु तथा अन्य सवारीसाधन आवतजावतमा समस्या भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij