भरतपुर : चितवनमा नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको सभापतिका लागि बुद्धिकान्त न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेस भरतपुर महानगरपालिका–६ को वडा अधिवेशनबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएपछि न्यौपानेले महानगर सभापतिमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
शनिबार सम्पन्न वडा अधिवेशनबाट न्यौपानेसहित सबै क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका थिए । क्षेत्रीय प्रतिनिधि चयन भएपछि आफू महानगर सभापतिको उम्मेदवार बन्न वैधानिक रूपमा तयार भएको न्यौपानेले बताएका छन् ।
न्यौपाने हाल नेपाली कांग्रेस भरतपुर महानगरपालिकाका उपसभापति हुन् । पाँच वर्ष महानगर सदस्यका रूपमा काम गरेपछि उपसभापतिको जिम्मेवारीमा पुगेका उनले कार्यवाहक अध्यक्षको भूमिकासमेत सम्हाल्दै पार्टीका संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएको बताएका छन् ।
महानगर सभापतिको उम्मेदवारी घोषणा गर्दै न्यौपानेले पार्टीभित्रको गुट–उपगुटभन्दा माथि उठेर सबैलाई समेट्ने नेतृत्व आवश्यक रहेको बताएका छन् । आफू निर्वाचित भए कांग्रेसलाई एकताबद्ध र बलियो पार्टीका रूपमा अघि बढाउने उनको भनाइ छ ।
बालबालिका, युवा, महिला तथा ज्येष्ठ नागरिकका हकहित र अधिकारका पक्षमा आवाज उठाउने, प्राकृतिक विपद्को पूर्वतयारी तथा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने र पार्टीभित्रका सबै विचार तथा पक्षलाई समेटेर अघि बढ्ने आफ्नो प्राथमिकता रहेको न्यौपानेले बताएका छन् ।
“म भाषणमा होइन, निष्ठा र काममा विश्वास गर्छु । पार्टीलाई बलियो बनाउन, विपद्मा जनताको सारथी बन्न र समृद्ध भरतपुरको सपना पूरा गर्न सबैको साथ, विश्वास र सहयोगको अपेक्षा गर्दछु,” उनले भने ।
आफ्नो परिवार पुस्तौँदेखि नेपाली कांग्रेस र लोकतन्त्रका लागि समर्पित रहेको उल्लेख गर्दै न्यौपानेले आफूले पनि त्यही राजनीतिक संस्कार र निष्ठालाई निरन्तरता दिने बताएका छन् ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत भरतपुर महानगरपालिकाको नगर अधिवेशन असोज ७ गते हुँदैछ । नगर अधिवेशन नजिकिएसँगै महानगर सभापतिका आकांक्षीहरूले उम्मेदवारी घोषणा तथा आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij