Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

राप्ती कांग्रेसमा सर्वसम्मत नेतृत्व, सभापतिमा चुडाप्रसाद सिलवाल चयन

राप्ती कांग्रेसमा सर्वसम्मत नेतृत्व, सभापतिमा चुडाप्रसाद सिलवाल चयन

राप्ती : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत राप्ती नगरपालिकाको नगर अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ । नगर सभापतिका आकांक्षीहरूबीच सहमति जुटाउन निवर्तमान नगर सभापति देवेन्द्र लामाले गरेको पहलपछि चुडाप्रसाद सिलवाल (भीमसेन) नगर सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।

सिलवाल यसअघि कांग्रेस राप्ती–८ का वडा सभापति थिए । नगर सभापतिका आकांक्षीहरूबीच प्रतिस्पर्धाको अवस्था देखिएपछि लामाले सहमति र एकताका लागि पहल गरेका थिए ।

चितवनका सात स्थानीय तहमध्ये राप्तीमा नगर सभापति सर्वसम्मत चयन हुनुलाई कांग्रेसभित्रको आन्तरिक एकताको प्रयासका रूपमा लिइएको छ । लामाले आफ्नो कार्यकालमा पनि पार्टीभित्र सहमति र समन्वयमा जोड दिँदै आएका थिए ।

797419441_1198289269795542_6839897197473833889_n.jpg
undefined

लामाको नेतृत्वमा कांग्रेसले २०७९ को स्थानीय तह निर्वाचनमा राप्ती नगरपालिकामा लामो समयपछि स्थानीय तहको निर्वाचन जितेको थियो । त्यसयता उनको संगठनात्मक भूमिकालाई स्थानीय कांग्रेसमा महत्वका साथ हेरिँदै आएको छ ।

अधिवेशनपछि लामाले पार्टीभित्रको विवाद अन्त्य गर्दै कांग्रेसलाई नयाँ ढंगबाट अघि बढाउन सर्वसम्मतिको प्रयास गरिएको बताए । “कांग्रेसमा आपसी विवादको अन्त्य गर्न राप्ती नगर सभापतिमा सर्वसम्मत गरिएको हो । हिजोसम्म जे भयो भयो, अब कांग्रेस नयाँ सिराबाट अगाडि बढ्छ । म यो प्रयासमा सधैँ लाग्नेछु,” उनले भने ।

नगर नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण भएसँगै लामाको आगामी राजनीतिक भूमिकाबारे पनि कांग्रेस वृत्तमा चासो बढेको छ । चितवन क्षेत्र नं. १ अन्तर्गत पार्टीको महत्वपूर्ण जिम्मेवारीमा उनको सम्भावित उम्मेदवारीबारे चर्चा भए पनि लामाले भने अहिलेसम्म औपचारिक घोषणा गरेका छैनन् ।

राप्ती कांग्रेसले सिलवालको नेतृत्वमा नयाँ कार्यकाल सुरु गरेको छ भने लामाले सहमति र संगठन सुदृढीकरणमा आफ्नो भूमिका निरन्तर रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट