Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि जारी

स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि जारी

काठमाडौँ : स्थानीय तहमा ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य, सामाजिक सहभागिता र सम्मानजनक जीवनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सरकारले ‘स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन/स्थापना सम्बन्धी कार्यविधि, २०८३’ तयार गरेको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यविधि तयार पारेको हो।नयाँ कार्यविधिअनुसार स्थानीय तहमा सञ्चालन हुने दिवा सेवा केन्द्रले घरमा एक्लोपन महसुस गरिरहेका वा हेरचाह आवश्यक भएका ज्येष्ठ नागरिकलाई दिनको समयमा भेटघाट, सामाजिक घुलमिल, मनोरञ्जन, स्वास्थ्य सेवा तथा परामर्शको अवसर उपलब्ध गराउनेछ। यी केन्द्रहरू कम्तीमा हप्ताको पाँच दिन सञ्चालन गर्नुपर्नेछ। शौचालय, भान्सा, र्‍याम्प, आवतजावत गर्ने स्थानमा समाउने रेलिङसहितका संरचना निर्माण गरी केन्द्रलाई ज्येष्ठ नागरिकमैत्री बनाउनुपर्ने व्यवस्था गरिएको छ।

ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै महिनामा कम्तीमा एकपटक सरकारी, निजी वा सामुदायिक अस्पतालका चिकित्सकमार्फत स्वास्थ्य परीक्षण गराउने, आवश्यक औषधि उपलब्ध गराउन सहयोग गर्ने र परामर्श सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ। केन्द्रमा स्वच्छ खाजा तथा तातो-चिसो पिउने पानीको प्रबन्ध गरिनुका साथै ज्येष्ठ नागरिकको इच्छाअनुसार तीन महिनामा कम्तीमा एकपटक धार्मिक, सांस्कृतिक वा पर्यटकीय स्थलको भ्रमण गराइनेछ।कार्यविधिले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्ने विषयलाई विशेष प्राथमिकता दिएको छ। यसका लागि प्रवचन, अन्तरक्रिया तथा अनुभव आदानप्रदानका कार्यक्रम सञ्चालन गरी अभिलेख राखिनेछ। 

ज्येष्ठ नागरिकले आफूसँग रहेको सीप प्रयोग गरी कुनै सामग्री उत्पादन वा बिक्री गर्न चाहेमा आवश्यक सहजीकरण गरिनेछ। कुनै पनि कार्यक्रममा ज्येष्ठ नागरिकलाई इच्छाविपरीत सहभागी गराउन नपाइने र उनीहरूको गरिमा, सुरक्षा तथा स्वेच्छालाई ध्यान दिनुपर्ने स्पष्ट पारिएको छ।सङ्घीय सरकारबाट स्थानीय तहमा उपलब्ध गराइने सशर्त अनुदानमार्फत यो कार्यक्रम सञ्चालन हुनेछ। सम्बन्धित आर्थिक वर्षभित्र खर्च नभएको रकम सङ्घीय सञ्चित कोषमा फिर्ता गर्नुपर्नेछ। स्थानीय तहले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र भौतिक तथा वित्तीय प्रगति, लाभान्वितको विवरण, उपलब्धि र चुनौतीसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउनुपर्नेछ। यस कार्यविधिले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य, सामाजिक सहभागिता, मनोरञ्जन, सीप हस्तान्तरण र सक्रिय बुढ्यौलीलाई जोड्ने बहुआयामिक सेवा केन्द्र विकास गर्ने आधार खडा गरेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij