बटवल : नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले लुम्बिनी प्रदेशमा वडा अधिवेशन सकेर पालिका अधिवेशन थालेको छ । कतिपय पालिकामा भने अधिवेशन सम्पन्न गर्नै सकस परेको छ।केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार वडा अधिवेशनपछि पालिका अधिवेशन गर्ने तयारी भए पनि लुम्बिनीका केही जिल्लामा वडा तहकै संगठन निर्माणमा कठिनाइ भएपछि पालिका अधिवेशन प्रभावित भएको हो । कतिपय स्थानमा भने वडा अधिवेशन सम्पन्न भएसँगै पालिका अधिवेशन तामझामका साथ अघि बढेको छ।नेपाली कांग्रेस देउवा पक्षका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीका अनुसार प्युठान र रोल्पामा वडा अधिवेशनसँगै पालिका अधिवेशनसमेत सम्पन्न भइसकेको छ। कपिलवस्तुमा १० स्थानीय तहमध्ये चार वटाको अधिवेशन सम्पन्न भएको छ भने तीन वटामा बुधबार अधिवेशन भइरहेको छ । बाँकी तीन पालिकामा केही दिनभित्र अधिवेशन गर्ने तयारी छ।
दाङका पालिकाहरूमा भने बिहीबारदेखि अधिवेशन गर्ने गरी तयारी भइरहेको गिरीले रातोपाटीलाई बताए । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये प्युठान र कपिलवस्तुमा देउवा पक्षले अधिवेशनलाई विशेष तामझामका साथ अघि बढाएको छ । प्युठानमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सरोज थापा (रोज) नेतृत्वमा सबै पालिकाको अधिवेशन सम्पन्न भएको छ ।कतिपय स्थानमा मोटर साइकल र्यालीसहित कार्यक्रम आयोजना गरेर अधिवेशन गरिएको थियो । कपिलवस्तुमा पनि खुला स्थानमा ठुलो उपस्थितिका बिच पालिका अधिवेशन सञ्चालन गरिएको छ । देउवा पक्षले संगठनात्मक शक्ति प्रदर्शनलाई समेत अधिवेशनसँग जोडेको देखिएको छ ।
तर सबै जिल्लाको अवस्था उस्तै छैन । कतिपय जिल्लामा वडा तहको समिति गठन गर्नसमेत पर्याप्त कार्यकर्ता नहुँदा अधिवेशन प्रक्रिया ढिलो भएको प्रदेश संयोजक गिरीले बताए । पाल्पा, गुल्मी लगायतका जिल्लाका केही स्थानमा वडा अधिवेशन सम्पन्न गर्न नै कठिनाइ भइरहेको छ ।अर्घाखाँचीमा भने वडा अधिवेशन अन्तिम चरणमा पुगेको जिल्ला संयोजक बाबुराम पौडेलले बताए । केन्द्रको सल्लाहअनुसार केही दिन म्याद थपेर वडा अधिवेशन सम्पन्न गर्ने र त्यसपछि पालिका तथा नगर अधिवेशन गर्ने तयारी रहेको उनले बताए ।
रुपन्देहीमा भने पालिका अधिवेशन सुरु भइसकेको छ । मंगलबार बुटवल उपमहानगरपालिकामा प्रभा अर्यालको सभापतित्वमा नगर समिति गठन भएको थियो । बुधबार लुम्बिनी सांस्कृतिक नगरपालिकामा घनश्याम यादवको सभापतित्वमा समिति गठन गरिएको नेपाली कांग्रेस रुपन्देहीका संयोजक गुनाखर भुर्तेलले रातोपाटीलाई बताए । उनका अनुसार बिहीबार सियारी र शुद्धोधन गाउँपालिकामा अधिवेशन गर्ने तयारी छ ।देउवा पक्षले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गर्दै आन्तरिक तयारी अघि बढाएको छ । सोहीअनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा जिल्ला संयोजक तोकेर वडा हुँदै पालिका र जिल्ला तहसम्मको संगठनात्मक गतिविधि अघि बढाइएको छ ।एउटै प्रदेशमा कतै र्याली, सभा र ठुलो उपस्थितिका साथ अधिवेशन भइरहँदा कतै कार्यकर्ता जुटाउनै कठिन हुने अवस्थाले संगठनात्मक अवस्था जिल्लाअनुसार फरक–फरक रहेको देखाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij