Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

सरुवा-बढुवाको कुराले दशैँमा आफन्तबाटै सराप पाइएला भन्ने डर भयो : महामन्त्री आचार्य

सरुवा-बढुवाको कुराले दशैँमा आफन्तबाटै सराप पाइएला भन्ने डर भयो : महामन्त्री आचार्य

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले सरकारी संयन्त्रमा मौलाउँदै गएको सरुवा–बढुवाको ‘भनसुन’ र दबाब रोक्न स्वायत्त सरुवा बोर्ड गठन गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले नातागोता र निकट व्यक्तिहरूबाट हुने स्वार्थप्रेरित दबाबले प्रशासनिक प्रणाली प्रभावित भइरहेको भन्दै सरुवा–बढुवालाई विधि र पूर्वानुमानमा आधारित बनाउनुपर्ने बताए ।
आफू राजनीतिमा आएपछि सबैभन्दा बढी दबाब सरुवा र बढुवाकै लागि झेल्नुपरेको उनको भनाइ थियो । सुशासन र पारदर्शिताको कुरा गर्नेहरू नै व्यक्तिगत स्वार्थका लागि शक्तिकेन्द्र धाउने गरेको भन्दै उनले कटाक्षसमेत गरे ।

‘राजनीतिमा आएपछि मैले सबैभन्दा बढी झेलेको समस्या नै सरुवा र बढुवाको हो । सुशासनको कुरा गर्नेहरूसमेत मेरो घरमा नातावाद र कृपावाद खोज्दै आउनुहुन्छ,’ उनले भने ।

यस्ता आग्रहलाई आफूले विधि र पद्धतिभन्दा बाहिर गएर सम्बोधन गर्न नसक्ने भन्दै फर्काउने गरेको उनले बताए ।

आचार्यले सरुवा–बढुवाका लागि आउने दबाबलाई लिएर व्यंग्य गर्दै सरकारसँग आफूलाई ‘सराप’बाट बचाइदिन आग्रह गरे ।

‘यदि यो व्यवस्था नभए आउँदो दसैँमा आफ्नै इष्टमित्रबाट टीका र आशीर्वाद पाउनु त कता हो कता, काम भएन भनेर सराप पो पाइन्छ कि भन्ने डर छ । यो सरापबाट मलाई बचाइदिनुपर्‍यो सरकार,’ उनले भने ।

उनको अभिव्यक्तिले निजामती प्रशासनमा सरुवा–बढुवाका लागि हुने भनसुन, पहुँच र व्यक्तिगत दबाबको विषयलाई फेरि सार्वजनिक बहसमा ल्याएको छ ।

‘स्वायत्त सरुवा बोर्ड गठन गरौँ’

आचार्यले आफ्नो पार्टीको वाचापत्रमा समेत स्वायत्त सरुवा बोर्ड गठन गर्ने प्रतिबद्धता रहेको स्मरण गराउँदै सरकारलाई त्यसको कार्यान्वयन गर्न आग्रह गरे ।

‘हाम्रो वाचापत्रको बुँदा नम्बर ८ मा स्वायत्त सरुवा बोर्ड गठन गर्ने उल्लेख छ । जसले निश्चित विधि र पूर्वानुमानका आधारमा काम गर्छ । सरकारले यो बोर्ड जतिसक्दो चाँडो गठन गर्नुपर्छ,’ उनले भने ।

सरुवा–बढुवामा स्पष्ट मापदण्ड र पूर्वानुमानयोग्य प्रणाली विकास गर्न सके व्यक्तिगत दबाब र पहुँचका आधारमा हुने निर्णय घटाउन सकिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट