भरतपुर : खराब मौसम र कम भिजिबिलिटीका कारण चितवनको भरतपुर विमानस्थलबाट शुक्रबार हुने सबै हवाई उडान रद्द भएका छन्।
आवश्यक भिजिबिलिटी नपुगेपछि काठमाडौं तथा अन्य गन्तव्यका लागि निर्धारित उडान सञ्चालन गर्न नसकिएको बुद्ध एयर भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतले जानकारी दिए।
उनका अनुसार मौसममा सुधार नआएसम्म विमानको सुरक्षित उडान तथा अवतरण सम्भव छैन। त्यसैले शुक्रबारका लागि निर्धारित सबै उडान रद्द गरिएको हो।
भरतपुर विमानस्थलबाट दैनिक पाँच सयभन्दा बढी यात्रु चितवन–काठमाडौं तथा पोखरालगायतका गन्तव्यमा आवतजावत गर्ने गरेका छन्। उडान रद्द भएपछि ठूलो संख्यामा यात्रु प्रभावित भएका छन्।
मौसममा सुधार आएपछि मात्रै हवाई सेवा पुनः सञ्चालन हुने बताइएको छ। उडान रद्द भएका यात्रुलाई टिकट तथा नयाँ उडान तालिकाबारे सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij