Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

सम्झन लायक सम्बोधन भन्दै कांग्रेस, एमाले, नेकपा र राप्रपाका नेताले गरे बालेनको समर्थन

सम्झन लायक सम्बोधन भन्दै कांग्रेस, एमाले, नेकपा र राप्रपाका नेताले गरे बालेनको समर्थन

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई गरेको सम्बोधनप्रति विभिन्न राजनीतिक दलका नेताहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। आज बिहान सभालाई सम्बोधन गर्दै उनले भोटेकोशी बाढीको उदाहरण दिँदै हिमालयबाट आएको जलवायु सङ्कटको चेतावनीलाई विश्वले अब सुन्ने मात्र नभई त्यसअनुसार तत्काल काम गर्नुपर्नेमा जोड दिएका थिए।

विकास, लोकतन्त्र, शान्ति र युवा राष्ट्रको आशाबारे बोल्नुपर्ने अवस्थामा आफू मृत्यु र विनाश, आफन्तको प्रतीक्षामा रहेका परिवार, बेपत्ता नागरिक तथा बाढीले बगाएका पुल, सडक, विद्यालय, घर र जीविकोपार्जनका साधनबारे बोल्न बाध्य भएको उल्लेख गरेका थिए।

विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु सङ्कटको ठूलो मूल्य नेपालले चुकाइरहेकोप्रति  प्रधानमन्त्री शाहले विश्वलाई नै ध्यानाकर्षण गराएका थिए । सभालाई सम्बोधन गर्दै उनले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रस्ताव समेत गरे।
उनले भने–‘जलवायु सङ्कटबाट प्रभावित गरिब मुलुकलाई केवल ऋण वा साना अनुदानको टुक्रे व्यवस्थाले हुँदैन। विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक छ।’

कसले के भने ?

जलवायु सङ्कटलाई विश्व मञ्चमा साझा गर्ने महत्त्वपूर्ण काम भयो : रास्वपा

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्रीको सम्बोधनमार्फत नेपालको जलवायु सङ्कटलाई विश्व मञ्चमा साझा गर्ने महत्त्वपूर्ण काम भएको बताएकी छन्।
उनले भनेकी छन्–‘नेपालका लागि जलवायु विपद् मानवीय सङ्कट मात्रै हुँदै होइन, खासमा विकासको आपत्काल पनि हो। हाम्रो आवाज विश्व मञ्चमा साझा गर्ने पहिलो कर्तव्य त हामीले सफलतापूर्वक पूरा गरेका छौँ। तर यो चरण यस यात्राको श्रीगणेश हो इतिश्री होइन।’

उनले आँटेको कदमलाई गन्तव्यसम्म पुर्‍याउन थप अनवरत बैठक, छलफल र समन्वयको आवश्यकता रहेको उनको भनाइ छ। यो आवाजलाई बिसाउन नदिने हठको आवश्यकता रहेको बताइन्।

प्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा नेपाली प्रतिनिधिमण्डललाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज पुर्‍याएकोमा धन्यवाद दिएकी छन्।

प्रधानमन्त्रीको सम्बोधनमा नेपालको प्रतिनिधित्व भयो : नेपाली कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रधानमन्त्रीको सम्बोधन कुनै दल विशेषको नभई समग्र नेपालको प्रतिनिधित्व गर्ने भाषा भएको बताए। प्रधानमन्त्रीको विदेश भ्रमणअघि पार्टीले दिएको सुझाव अनुकूल नै प्रधानमन्त्रीको सम्बोधन आएको बताए।

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षति, जलवायु न्याय तथा क्षतिपूर्तिको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु आवश्यक रहेको उनको भनाई थियो । यद्यपी उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले सार्वजनिक गरेका तथ्याङ्कमा फरक देखिएको भन्दै अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत तथ्याङ्कमा एकरूपता र संवेदनशीलता आवश्यक रहेपनि त्यसो नभएको बताए। 

उनले भने–‘फरक–फरक तथ्याङ्क प्रस्तुत हुँदा नेपालको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्छ। त्यसमा स्पष्टता आवश्यक हुन्छ। त्यो कुरामा ध्यान दिनुपर्थ्यो।’

प्रधानमन्त्रीले महासभामा उठाएका विषयहरू महत्त्वपूर्ण : एमाले

एमाले उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्रीले महासभामा उठाएका विषयहरू महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिए। विगतदेखि नेपालले निरन्तर उठाउँदै आएका विषयलाई प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा निरन्तरता दिएको उनको भनाइ छ।

प्रधानमन्त्रीले युद्ध, अन्तर्राष्ट्रिय द्वन्द्व, घातक हतियारको बिक्री, व्यापारिक प्रतिस्पर्धालगायतका कारण साना तथा कमजोर राष्ट्र र नागरिकमाथि परेको दबाबका विषय उठाएका थिए। त्यस्तै, जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्या, आगामी सङ्कट, जलवायु न्याय तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता पनि सम्बोधनमा समेटिएको थियो।

अन्तर्राष्ट्रिय मञ्चमा उठाउनै पर्ने कुरा प्रधानमन्त्रीको सम्बोधनमा आयो : नेकपा

नेकपाका प्रवक्ता प्रकाश ज्वालाले पनि प्रधानमन्त्रीको सम्बोधनमा नेपालले विश्व मञ्चमा उठाउनुपर्ने कतिपय महत्त्वपूर्ण विषय समेटिएको बताए। विशेषगरी जलवायु परिवर्तन, जलवायु न्याय, क्षतिपूर्ति तथा साना र कमजोर राष्ट्रले पाउनुपर्ने न्यायका विषय सम्बोधनमा आएको बताए।

उनले भने–‘सम्बोधनमा नेपालले पछिल्ला वर्षहरूमा बाढी पहिरोलगायतका प्राकृतिक विपद्को सामना गरिरहेको विषय आएको छ। यस्ता विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु आवश्यक थियो। जुन कुरा आएको छ ।’

संयुक्त राष्ट्रसंघको औचित्य र उसले खेल्नुपर्ने भूमिकाका विषयमा पनि प्रधानमन्त्रीको सम्बोधन केन्द्रित रहेको उनको भनाइ छ।

प्रवक्ता ज्वालाले भने–‘अब जलवायु न्याय र क्षतिपूर्तिको सवाल या साना राष्टहरूले समग्रमा पाउनुपर्ने न्याय र संयुक्त राष्ट्र संघको औचित्य र संयुक्त राष्ट्र संघले खेल्नुपर्ने भूमिकाका बारेमा प्रधानमन्त्रीको सम्बोधन ठिकै छ।’

प्रधानमन्त्रीको सम्बोधनले नेपाली जनतामा आशा र उत्साह जगायो : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको सम्बोधनले नेपाली जनतामा आशा र उत्साह जगाएको बताए। पशुपतिनाथ र बुद्धको शान्ति, मानवता तथा करुणाको मार्गमा अघि बढ्दै राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले सम्बोधन गरेको उनको भनाइ छ।

उनले भने–‘नेपाली जनताको हितलाई केन्द्रमा राखेर प्रस्तुत गर्नुभएको सम्बोधनले नेपाली जनताको मनमा आशा र उत्साह जगाएको छ। यो केवल सम्बोधन होइन, समृद्ध, स्वाभिमानी र शान्त नेपाल निर्माणको एउटा सुन्दर सपना पनि हो।’

अन्तर्राष्ट्रिय ध्यान तान्न सक्ने स्तरीय सम्बोधन : जनमत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भने प्रधानमन्त्रीको सम्बोधन विषयवस्तुका हिसाबले स्तरीय रहेको बताएका छन्। अन्तर्राष्ट्रिय ध्यान तान्न सक्ने र प्रभाव पार्न सक्ने विषय सम्बोधनमा समेटिएको उनको भनाइ छ।

बाबुराम भट्टराईले भने–समग्र अन्तर्वस्तु र प्रस्तुति सही

डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको सम्बोधनको समग्र अन्तर्वस्तु र प्रस्तुति सही रहेको प्रतिक्रिया दिए। शैली र आस्था सबैको फरक हुनु स्वाभाविक भएको उनको भनाइ छ।

गोकुल बास्कोटाले भने – राष्ट्रसंघमा बालेनले देशको भावना बोले, समर्थन गर्छु तर म रास्वपा हैन

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनको प्रशंसा गरेका छन् ।

शाहको सम्बोधनपछि एमाले केन्द्रीय सदस्य बास्कोटाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीको सम्बोधन दृढ, सार्थक र जोडदार लागेको बताएका हुन्।

उनले लेखेका छन्–‘प्रम बालेनको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ, सार्थक र जोडदार लाग्यो। तर म रास्वपा हैन, उनले देशको भावना बोले– मैले खुसी मनले समर्थन गरेँ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट