Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

‘डोजर आतंक बन्द गर’ भन्दै सडकमा उत्रिए जनकपुरवासी

‘डोजर आतंक बन्द गर’ भन्दै सडकमा उत्रिए जनकपुरवासी

जनकपुरधाम : गुठी तथा कुटीको जग्गा अतिक्रमण गरेको आरोपमा सरकारले विस्थापित गर्न खोजेको भन्दै जनकपुरधामका स्थानीय बासिन्दाले बृहत् विरोध प्रदर्शन गरेका छन्। 

बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको वर्तमान सरकारले आफूहरूलाई उठिबास लगाउन खोजेको भन्दै सयौँको संख्यामा सडकमा उत्रिएका उनीहरूले नगर परिक्रमा गर्दै चर्को नाराबाजी गरेका हुन्।गुठीकुटी घरजग्गा व्यवस्थापन महासंघर्ष समितिको आयोजनामा भएको विरोध प्रदर्शनमा महिला तथा पुरुषहरू हातमा प्लेकार्ड बोकेर सडकमा निस्किएका थिए। मिल्स एरियाबाट सुरु भएको जुलुस भानुचोक, शिवचोक र जनकचोक हुँदै राम मन्दिरमा पुगेर गुठी संस्थानलाई ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्र बुझाउनुअघि प्रदर्शनकारीले गुठी संस्थान र सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए। नगर परिक्रमापछि उनीहरूले रामानन्द चोकमा पुगेर मुख्य राजमार्ग नै अवरुद्ध गरी कोणसभाको आयोजना गरे।

कोणसभालाई सम्बोधन गर्दै स्थानीय रामवरण पासवानले वर्तमान सरकारबाट आफूहरूले न्यायको अपेक्षा गरेको भए पनि उल्टै उठिबास लगाउन खोजिएको गुनासो गरे। सरकारले जबर्जस्ती हटाउने निर्णय लाद्न खोजे यसको परिणाम भयावह हुने र त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी उनले दिए। 

त्यस्तै महासंघर्ष समितिका अध्यक्ष सन्तोष साहले सरकारको रवैयाकै कारण विगतमा पिडारी चोकमा चक्काजाम र क्याम्पस चोकमा मसाल जुलुस प्रदर्शन गरिएको स्मरण गराए। स्थानीय सरकार र केन्द्रीय गुठी संस्थानलाई बारम्बार जानकारी गराउँदा पनि समस्या समाधानमा चासो नदिएको उनको आरोप थियो। 

जनकपुरको नगरक्षेत्रभित्र ३० देखि ३५ हजार घरधुरी गुठी र कुटीकै जग्गामा बसेको भन्दै उनले उचित दस्तुर लिएर ती जग्गालाई रैतानी नम्बरीमा परिणत गरी लालपुर्जा वितरण गर्नुपर्ने माग राखे। संविधानले नै गाँस, बास र कपासको प्रत्याभूति गरेको अवस्थामा सरकारले जनतालाई घरबारविहीन बनाउन नपाउने उनको भनाइ थियो।प्रदर्शनमा सहभागी स्थानीयले आफूहरू अतिक्रमणकारी नभई जग्गा किनेरै बसेको दाबी गरेका छन्। वर्षौंदेखि सरकारलाई कर बुझाउँदै र विद्युत् तथा खानेपानीको सुविधा उपभोग गर्दै आएकाले अतिक्रमणकारीको आरोप लगाएर हटाउन खोजे कुनै हालतमा नमान्ने उनीहरूको अडान छ। जनकपुर–८ का सुनील झाले २०२१ सालमै जग्गा किनेर बसेको बताउँदै भने, 'सरकारले हामीलाई जबर्जस्ती उठाउन खोजिरहेको अनुभूति भएको छ, ज्यान गए पनि जग्गा छाड्नेवाला छैनौँ।'

त्यसैगरी जनकपुर–१२ की ६६ वर्षीया भिरादी खत्वेले ज्यालादारी गरेर जोडेको ६-७ धुर जग्गाबाट सरकारले विस्थापित गर्न खोजेको दुखेसो पोखिन्। विवाह गरेर भित्रिएको घरमा अहिले चारजना नातिनातिना हुर्किसकेको बताउँदै उनले थपिन्, 'बरु ज्यान दिन्छु, तर यो अवस्थामा घर छाडेर कतै जान्नँ।' जनकपुर–१४ रजौलका ७६ वर्षीय पूर्वइन्जिनियर कृष्णशंकर मिश्रले पाँच पुस्तादेखि किनेरै बसेको जग्गालाई सरकारले गुठीको दाबी गर्दै हटाउन खोजेको बताए। सरकारले अविलम्ब लालपुर्जा दिनुपर्ने उनको माग थियो।हातमा प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले गुठीकुटीको जग्गा व्यवस्थापन गर, हाम्रो आन्दोलन अस्तित्व रक्षाको आन्दोलन हो, डोजर आतंक बन्द गर, घर तोड्न पाइँदैन, हामी अतिक्रमणकारी होइनौँ, र प्रहरी प्रशासन दमन आतंक बन्द गर जस्ता नारा लगाएका थिए। प्रदर्शनका क्रममा कुनै अप्रिय घटना हुन नदिन जनकपुरमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट