Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

नेपाली कांग्रेस चितवन–३ बाट खस आर्यतर्फ त्रिलोचन कँडेलको दाबेदारी

नेपाली कांग्रेस चितवन–३ बाट खस आर्यतर्फ त्रिलोचन कँडेलको दाबेदारी

चितवन : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा चितवन क्षेत्र नं. ३ मा आन्तरिक चुनावी सरगर्मी बढेको छ। यसैक्रममा लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय रहँदै आएका त्रिलोचन कँडेलले खस आर्यतर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दाबेदारी प्रस्तुत गरेका छन्।

टोल तहबाट राजनीतिक यात्रा सुरु गरेका कँडेलले वडा, नगर हुँदै जिल्ला तहसम्म कांग्रेसको संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्। पार्टीका संगठनात्मक गतिविधि, अधिवेशन तथा कार्यकर्तासँगको प्रत्यक्ष सम्पर्कमा निरन्तर सक्रिय रहँदै आएका कँडेलले आफ्नो राजनीतिक यात्रालाई त्याग, निष्ठा र संगठनप्रतिको निरन्तर प्रतिबद्धतासँग जोड्दै आएका छन्।
 कँडेलको राजनीतिक परिचय केवल व्यवसायीका रूपमा मात्र सीमित छैन। पार्टीको तल्लो तहदेखि संगठन निर्माण र विस्तारका गतिविधिमा सक्रिय रहँदै विभिन्न जिम्मेवारी निर्वाह गरेको अनुभव उनको दाबेदारीको मुख्य आधारका रूपमा प्रस्तुत गरिएको छ। स्थानीय तहका कार्यकर्तासँग निरन्तर सम्पर्कमा रहने र पार्टीका गतिविधिमा सक्रिय सहभागिता जनाउने कँडेलले लामो समयदेखि कांग्रेसको राजनीतिलाई आफ्नो सामाजिक यात्रासँगै अघि बढाउँदै आएका छन्।

 निडर, स्पष्टवक्ता, हक्की स्वभाव र सहयोगी व्यक्तित्वका रूपमा परिचित कँडेल सामाजिक सेवामा समेत सक्रिय छन्। पार्टी संगठनमा काम गर्दा कार्यकर्तासँगको सम्बन्धलाई प्राथमिकता दिँदै आएका उनले समाजका विभिन्न वर्ग र समुदायसँग समेत निरन्तर सम्पर्क कायम राख्दै आएका छन्।


उद्योग–व्यवसायमा पनि नेतृत्वदायी भूमिका
   राजनीतिक यात्रासँगै कँडेलले चितवनको उद्योग तथा पोल्ट्री क्षेत्रमा पनि नेतृत्वदायी भूमिका स्थापित गरेका छन्। सफल पोल्ट्री व्यवसायीका रूपमा परिचित उनी चितवनका उद्योगी–व्यवसायीको साझा संस्था चितवन उद्योग संघको अध्यक्ष भई जिम्मेवारी सम्हालिसकेका छन्।  उनी नेपाल दाना उद्योग संघका केन्द्रीय समिति सदस्य, नेपाल पोल्ट्री महासंघका सचिव, नेपाल अण्डा उत्पादक संघका पूर्वअध्यक्ष, चितवन उद्योग संघका पूर्वअध्यक्ष, सीएनआई बागमती प्रदेशका अध्यक्ष तथा सीएनआई केन्द्रीय समितिका सदस्यका रूपमा समेत विभिन्न जिम्मेवारीमा रहेका छन्। त्यस्तै, कँडेल उषा इङ्लिस बोर्डिङ स्कुलका संस्थापक अध्यक्ष, चितवन ट्रे एन्ड प्याकेजिङ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष, अष्टसिद्धि पोल्ट्री उद्योगका अध्यक्ष, मोडेल पोल्ट्री उद्योगका प्रबन्ध निर्देशक तथा सन्तुलित फिड इन्डस्ट्रिजका अध्यक्ष हुन्।

शिक्षा तथा सामाजिक क्षेत्रमा पनि उनको लामो संलग्नता रहेको छ। उनी विश्वप्रकाश माध्यमिक विद्यालयका पूर्वअध्यक्ष, हरिकुमार स्मारक कलेजका सञ्चालक, चितवन औद्योगिक सहकारीका पूर्वअध्यक्ष, चितवन आदर्श युवा क्लबका पूर्वअध्यक्ष तथा रोटरी क्लब अफ भरतपुरका टीआरएफ चेयरका रूपमा समेत सक्रिय रहेका छन्।
  राजनीतिक संगठनमा टोलदेखि जिल्ला तहसम्मको अनुभव, सामाजिक सेवामा निरन्तर सक्रियता तथा उद्योग–व्यवसाय क्षेत्रमा हासिल गरेको नेतृत्व अनुभवलाई आधार बनाउँदै कँडेलले चितवन–३ बाट खस आर्यतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दाबेदारी अघि सारेका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट