नवलपरासी : नारायणी नदीमा आएको बाढी सुस्ता गाउँपालिका–५ का बस्तीमा पस्दा १६५ घर जलमग्न भएका छन्। शुक्रबारदेखि थारु टोलमा बाढी पस्न थालेपछि ७८ घरपरिवारलाई सुस्तामा निर्मित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको थियो। सैनिक टोल र बड्का टोलमा समेत बाढी पसेपछि थप ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
सशस्त्र प्रहरी बेस क्याम्प सुस्ताका प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीका अनुसार नारायणी नदीमा पानीको सतह अझै बढ्दो क्रममा रहेकाले प्रभावितलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको छ। बाढीका कारण विशेषगरी कच्ची घरमा क्षति पुगेको छ।
शनिबार बिहान ७ बजेको मापनअनुसार गण्डक ब्यारेजमा नारायणी नदीको बहाव प्रतिसेकेन्ड २ लाख ६७ हजार क्युसेक पुगेको छ।
सुस्ता गाउँपालिका–५ का वडा सदस्य आदम खानका अनुसार नारायणी नदीले साविकको धार परिवर्तन गरी सुस्ता गाउँतर्फ सोझिएपछि बाढीको जोखिम बढेको छ।
प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधि उद्धार र थप क्षति रोक्न खटिएका छन्।