चितवन : बिजुलीको तार चपाउँदा करेन्ट लागेर जङ्गली हात्ती रोनाल्डोको मृत्यु भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुका लागि जोखिमपूर्ण संरचनाको अवस्था अध्ययन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।
विभागले असोज ५ गते चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृतसमेत रहेका विभागका अनुसन्धान अधिकृत डा. गणेश पन्तको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिका संयोजक डा. पन्तका अनुसार समितिले रोनाल्डोको मृत्युबारे छानबिन गर्ने छैन। निकुञ्जभित्र रहेका वन्यजन्तुका लागि जोखिमपूर्ण संरचनाको अध्ययन गरी आवश्यक सुझावसहित प्रतिवेदन तयार पार्ने समितिको जिम्मेवारी रहेको उनले बताए।
समितिको कार्यादेश (टीओआर) मा निकुञ्जभित्र रहेका बिजुलीका तार, पुराना भौतिक संरचनालगायतका कारण वन्यजन्तु जोखिममा पर्न सक्ने स्थान पहिचान गर्ने विषय समेटिएको छ। समितिले एक महिनाभित्र अध्ययन पूरा गरी प्रतिवेदन बुझाउनेछ।
समितिमा निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाका अधिकृत, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका वन्यजन्तु चिकित्सक, चितवन राष्ट्रिय निकुञ्जका चिकित्सक तथा सदस्य सचिव रहनेछन्।
असोज ३ गते बरन्डाभार सुरक्षा पोस्टमा लगिएको बिजुलीको तार तानेर मुखमा चपाएको अवस्थामा रोनाल्डो मृत भेटिएका थिए। निकुञ्ज प्रशासनका अनुसार उक्त बिजुलीको तार जमिनबाट करिब १६ फिट माथि थियो र हात्तीले तार तानेर मुखमा चपाउँदा करेन्ट लागेको थियो।
रोनाल्डोको मृत्यु सुरक्षा पोस्टमा लगिएको बिजुलीको तारका कारण भएको बताइए पनि घटनाको छुट्टै छानबिन नगरी जोखिमपूर्ण संरचनाको अध्ययनका लागि मात्र समिति गठन गरिएको भन्दै संरक्षणकर्मी र स्थानीयले असन्तुष्टि जनाएका छन्। उनीहरूले बिजुलीको तार जडानको मापदण्ड तथा घटनामा भएको सम्भावित कमजोरीबारे समेत छानबिन हुनुपर्ने माग गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij