Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

राजमार्गका विभिन्न स्थानमा पहिरो र अवरोध

राजमार्गका विभिन्न स्थानमा पहिरो र अवरोध


चितवन :  धादिङ, मकवानपुर, चितवन, काभ्रे लगायतका जिल्लामा रातभर वर्षा भएको छ। वर्षाका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्।
 राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवन  रामनगरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार काभ्रेमा सडकको अवस्था सामान्य रहेको छ। भकुण्डेबेँसी नगरपालिका–१ भतेरीको जंगलमा रुख ढलेर सडक अवरुद्ध भएको छ। अन्य विवरण आउन बाँकी रहेको छ।
मकवानपुरको भैँसे–भीमफेदी–कुलेखानी–काठमाडौं सडकअन्तर्गत भीमफेदी–६ जुरीखेत, इन्द्रसरोवर–२ ज्याल्टार र धाराखोल्सा भन्ने स्थानमा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। कान्तिलोकपथ पनि अवरुद्ध रहेको छ। भैँसे–पालुङ–नौबिसे त्रिभुवन राजपथ भने सुचारु रहेको छ। तीन स्थानमा खसेको पहिरो पन्छाउने काम सुरु भएको छ।
चितवनतर्फ इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक थप भासिनुका साथै लेदोसहितको पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ। सोही गाउँपालिका–५  सिमलधारामा लेदोसहितको पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी अवरुद्ध भएको छ। साना सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था रहेको छ। भरतपुर महानगरपालिका–१ आँपटाँडीमा रुख ढलेपछि सडक एकतर्फी अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ नाम्सी खोलामा लेदो खसेपछि सडक एकतर्फी अवरुद्ध भएको छ।
मुग्लिन–नारायणगढ सडकखण्डको अवरोध हटाएपछि पोखरातर्फको यातायात करिब दुई घण्टापछि सञ्चालन गर्न सकिने जनाइएको छ। थप अवरोध नआएमा यातायात सञ्चालनमा आउने बताइएको छ।
त्यस्तै, मुग्लिन–नागढुंगा सडकखण्डअन्तर्गत धादिङका विभिन्न स्थानमा अवरोध रहेकाले यातायात सञ्चालनमा आउन केही समय लाग्ने जानकारी प्राप्त भएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो । । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट