विराटनगर: मोरङको कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्नाम सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी छिन् । रमाइलो बजारमा आइतबार भएको दुर्घटनामा उनको मेरुदण्ड (स्पाइनल) मा गम्भीर चोट लागेपछि आकस्मिक शल्यक्रिया गरिएको छ।गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवका अनुसार अध्यक्ष इङ्नाम सवार स्कुटर र सिटी सफारी एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।
रमाइलो बजारस्थित पुरानो पालिका कार्यालयतर्फ जाने चोक नजिकै तरकारीको गाडीले बाटो छेकेको अवस्थामा अर्कोतर्फबाट तीव्र गतिमा आएको सिटी सफारीले अध्यक्ष सवार स्कुटरलाई ठक्कर दिएको थियो। ठक्करबाट अध्यक्ष इङ्नाम सडकमा पछारिएकी थिइन्।दुर्घटनालगत्तै उद्धार गरी उनलाई विराटनगरस्थित विराट शिक्षण अस्पताल पुर्याइएको थियो। परीक्षणका क्रममा मेरुदण्डको हड्डीमा गम्भीर समस्या देखिएको र तत्काल शल्यक्रिया नगरिए पक्षघात हुने उच्च जोखिम रहेकाले चिकित्सकहरूले आकस्मिक शल्यक्रिया गरेका थिए।
शल्यक्रिया पश्चात् अध्यक्ष इङ्नामलाई हाल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिइन् । दुर्घटनाको खबरपछि स्थानीय प्रतिनिधि तथा शुभेच्छुकहरू अस्पताल पुगिरहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij