Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, ६ जनाको मृत्यु, १,२८० जना विस्थापित

लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, ६ जनाको मृत्यु, १,२८० जना विस्थापित

बुटवल : लुम्बिनी प्रदेशमा असोज ८ देखि ११ गतेसम्म चार दिनको अवधिमा ७८ वटा विपद्का घटना भएका छन् ।प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार विपद्का घटनामा परी ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । विपद्का कारण प्रदेशभर १ हजार २८० जनालाई सुरक्षित स्थानमा सारिएको छ । यस अवधिमा २७ वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने ५६ वटा घरमा आंशिक क्षति पुगेको छ । १६ वटा घर डुबानमा परेका छन् भने १७० घर जोखिममा रहेका छन् । 

केन्द्रका अनुसार सबैभन्दा बढी पहिरोका ३१ वटा घटना भएका छन् । पहिरोमा परी ५ जनाको मृत्यु र एक जना घाइते भएका छन् । पहिरोका कारण ४८० जना विस्थापित भएका छन् । यस्तै १० घर पूर्ण र ८ घर आंशिक रूपमा क्षति भएका छन् भने एक सय घर जोखिममा रहेका छन् । डुबानका २६ घटनामा ७७८ जना सुरक्षित स्थानमा सारिएका छन् । डुबानका कारण ९ घर पूर्ण र १३ घर आंशिक रूपमा क्षति भएका छन् भने १६ घर डुबानमा परेका छन् । ७० घर जोखिममा रहेको विवरणमा उल्लेख छ । त्यस्तै, हावाहुरीका १३ र बाढीका ७ वटा घटना भएका छन् । हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ भने एउटा घर पूर्ण र ३५ वटा घरमा आंशिक क्षति पुगेको छ । बाढीका कारण २२ जना विस्थापित भएका छन् भने ७ वटा घर पूर्ण रूपमा क्षति भएका छन् । जिल्लागत रूपमा अर्घाखाँचीमा सबैभन्दा बढी १५ वटा विपद्का घटना दर्ता भएका छन् । त्यसपछि बाँकेमा १३ र गुल्मीमा १० वटा घटना भएका छन् । 

क्षतिको हिसाबले पाल्पा सबैभन्दा प्रभावित देखिएको छ । पाल्पामा पहिरोका कारण ५ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रोल्पामा हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ ।
विस्थापनतर्फ नवलपरासीमा सबैभन्दा बढी ७०० जना प्रभावित भएका छन् । गुल्मीमा २९८ र अर्घाखाँचीमा १७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । विपद्का कारण प्रदेशभर अनुमानित ४० लाख १७ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । आर्थिक क्षतिमा दाङ सबैभन्दा अगाडि छ । दाङमा २२ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ । नवलपरासीमा ५ लाख ६० हजार, बर्दियामा ५ लाख ५७ हजार क्षती भएको छ ।विपद्का घटनामा घरबाहेक अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ । ६ वटा गोठ पूर्ण र चार वटा आंशिक रूपमा क्षति भएका छन् । ७५ वटा पशु चौपाया क्षति भएका छन् । बाढीका कारण दाङ, गुल्मी र रुकुम पूर्वमा एक/एक वटा पुलमा क्षति पुगेको छ ।त्यस्तै, दाङ, रुकुम पूर्व र रूपन्देहीमा एकरएक वटा विद्यालय क्षतिग्रस्त भएका छन् । बाँकेमा २ तथा नवलपरासी, अर्घाखाँची, रुकुम पूर्व र रूपन्देहीमा एक/एक वटा उद्योगमा क्षति पुगेको छ । अर्घाखाँची, नवलपरासी, दाङ र पाल्पाका सरकारी कार्यालयमा पनि क्षति पुगेको पीईओसीले जनाएको छ । पाल्पामा २ वटा सवारी साधनमा समेत क्षति भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट