कास्की : घरेलु टोली गण्डकी प्रदेशले नेपाल भ्रमणमा रहेको भुटानको राष्ट्रिय क्रिकेट टोलीलाई अभ्यास खेलमा लगातार दोस्रो पटक पराजित गरेको छ। पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकी प्रदेशले भुटानलाई ६४ रनले पराजित गरेको हो। यसअघि मंगलबार सम्पन्न खेलमा समेत गण्डकी प्रदेशले भुटानलाई पराजित गरेको थियो।
यो खेलमा टस जितेर भुटानले पहिला बलिङ रोजेपछि गण्डकी प्रदेशले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ९६ बनायो। जितका लागि एक सय ९७ रनको लक्ष्य पछ्याएको भुटानी टोेलीले १७ ओभरको चौथो बलमा सवै विकेट गुमाएर १३२ रन बनायो ।
गण्डकी प्रदेशका लागि करन पगेनीले २७ बलमा एक चौका र पाँच छक्का हान्दै ४५ रन बनाए। यस्तै सिब्रिन श्रेष्ठले २४ बलमा एक चौका र पाँच छक्का प्रहार गर्दै ४५ रनको योगदान दिए । सन्दीप खत्री क्षेत्रीले नौ बलमा अविजित ३० रन बनाए। यस्तै मुस्कान थापामगरले २१ तथा रोहित चन्दले २० रन बनाए ।
बलिङतर्फ भुटानका थिन्ले जम्त्सोले चार, सोनाम येशेले दुई तथा नाम्गे थिन्लेले एक विकेट लिए।
यसैगरी भुटानका लागि १३२ रन बनाउने क्रममा सोनाम छोपेलले सर्वाधिक ४३ रन बनाए। उनले २१ बलमा छ चौका र दुई छक्का प्रहार गरे। यस्तै ताशी दोर्जीले ३१, तेन्जिन राब्गेले २१ र थिन्ले जम्त्सोले १७ रन बनाए ।
बलिङतर्फ गण्डकीका विपिन खत्रीले चार, दीपकप्रसाद डुम्रेले तीन र सिब्रिन श्रेष्ठले दुई विकेट लिए। उक्त खेलमा गण्डकीका सिब्रिन श्रेष्ठ ‘प्लेयर अफ दी म्याच’ घोषित भए।
भुटानले अब नेपाल क्रिकेट संघ (क्यान-११) सँग दुई खेल खेल्ने छ। भुटानको टोली आगामी अक्टोबरमा मलेसियामा हुने आईसीसी पुरुष टी–२० विश्वकपको एसिया उपक्षेत्रीय छनोट प्रतियोगिताको तयारी गर्न नेपाल आएको हो। विदेशी टोली पोखरामा क्रिकेट खेल्न आएसँगै यहाँको क्रिकेट विकासका साथै पोखरालाई अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij