Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

‘मगर विद्यार्थी अक्षयकोष’को लक्ष्य पूरा, १७ वर्षमा दश लाख बढी रकम सङ्कलन

‘मगर विद्यार्थी अक्षयकोष’को लक्ष्य पूरा, १७ वर्षमा दश लाख बढी रकम सङ्कलन

भरतपुर : ‘मगर विद्यार्थी अक्षयकोष चितवन’ले लक्ष्य पूरा गरेको छ । २०६६ सालमा ‘मगर विद्यार्थी कल्याणकारी कोष’को रूपमा स्थापना भएको कोषले १७ वर्षमा कोषको लक्ष्य पूरा गर्दै १० लाख रूपैयाँभन्दा बढी रकम सङ्कलन गर्न सफल भएको आइतबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो ।कोषका अध्यक्ष निर्मल थापामगरका अनुसार कल्याणकारी कोषलाई २०७५ सालमा कल्याणकारी कोषलाई अक्षयकोषमा रूपान्तरण गरेको हो । हाल आएर कोषमा १० लाख सात हजार ६८० रूपैयाँ रकम सङ्कलन भएको अध्यक्ष मगरले बताए । ‘तिहारको छेको पारेर खेलिने देउसीभैलो तथा विभिन्न गुठीबाट सङ्कलित रकमलाई कोषमा जम्मा गर्दै लग्यौँ । देश तथा विदेशबाट पनि रकम सङ्कलन हुँदै गयो । आज आएर लक्ष्य पूरा भएको खबर सुनाउन पाउँदा हामी खुसी छौँ,’ उनले भने, ‘मगर जातिको परिवारमा जन्मिएर आर्थिक अभावकै कारण शिक्षादीक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ स्थापना गरेको अक्षयकोष प्रभावकारी बन्दै गएको छ ।’

कोषमा जम्मा गरेको रकमबाट आएको ब्याजले २०७५ सालदेखि विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न थालिएको उनले बताए । उनका अनुसार १० वटा विद्यालयमा छात्रवृत्ति प्रदान गरिसकिएको छ । २०७६ र ७७ सालमा कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण छात्रवृत्ति प्रदान गर्ने वातावरण बनेन । त्यसबाहेक हरेक वर्ष प्रदान गर्दै आएको कोषले जनाएको छ । हालसम्म कोषको यो कार्यक्रमबाट दुई लाख २० हजार ४७७ रूपैयाँ रकम खर्च हुँदा २३१ जना मगर विद्यार्थी लाभान्वित भइसकेका छन् ।विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुका साथै उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कार दिने र सीपमुलक तालिम आयोजना गरेर उद्यमशीलतातर्फ सक्रिय गराउने गतिविधिमा समेत कोषले चासो राखेको उनले बताए ।

चितवन जिल्ला र यससँग जोडिएका छिमेकी जिल्लाका विपन्न, जेहेन्दार, प्रतिभावान, अनाथ एवम् अशक्त मगर विद्यार्थीहरुलाई उनीहरुको शैक्षिक गुणस्तर, व्यक्तित्व, आत्मविश्वास, सीप र प्रतिभाको विकास गराउँदै देशको समग्र विकास र समृद्धिमा मगरहरुको योगदान पु¥याउने लक्ष्यसहित अगाडि बढेको कोषले भावी दिनमा विद्यालय तह तथा स्नातकोत्तर तहमा उत्कृष्ट अङ्क ल्याउने मगर विद्यार्थीलाई नगदसहित ‘एजुकेशन अवार्ड’ प्रदान गर्ने योजना बनाएको छ ।विपन्न, अनाथ एवम् अशक्त विद्यार्थीहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्ने, विद्यार्थीका लागि सीप, व्यक्तित्व र नेतृत्व क्षमता विकास हुने कार्यक्रम सञ्चालन गर्ने र सीपमुलक तालिममार्फत् उद्यमशील र आत्मनिर्भर बनाउन प्रयत्न गर्नेजस्ता विषयलाई पनि कोषले भावी योजनामा समेटेको अध्यक्ष मगरले बताए । त्यसबाहेक मगर भाषा, कला, संस्कृतिको प्रवद्र्धन एवम् संरक्षणका लागि मगर विद्यार्थीलक्षित कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij