Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

गगन थापाको राजनीतिक प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मत पारित

गगन थापाको राजनीतिक प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मत पारित

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका छन्। बैठकले सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, उपसभापतिले पेश गरेको समसामयिक विषय तथा महामन्त्रीले पेश गरेको पार्टी सञ्चालन र विधानसम्बन्धी प्रस्तावमाथि निर्णय गरेको प्रवक्ता चालिसेले बताए। प्रतिवेदनमा आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि पार्टी पुनर्संरचना, सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, निजी क्षेत्रसँगको सहकार्य र युवाको सहभागितासम्मका विषय समेटिएका छन्।प्रतिवेदनमा कांग्रेसले पछिल्ला दुई दशकमा आफ्नो मूल उद्देश्यभन्दा पद र सत्तालाई प्राथमिकता दिएको स्वीकार गर्दै आत्मसमीक्षा गरिएको छ। गठबन्धन व्यवस्थापन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको उल्लेख गरिएको छ।

त्यस्तै, भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको विषय पनि प्रतिवेदनमा उठाइएको छ।युवापुस्तासँग पार्टीको दूरी बढेको र नागरिकका बदलिँदा अपेक्षा बुझ्न नसकेको स्वीकार गर्दै दोस्रो विशेष महाधिवेशनमार्फत जनतासँग क्षमायाचना गरी पार्टी सुधारको संकल्प गरिएको प्रतिवेदनमा उल्लेख छ।प्रतिवेदनमा २०८२ साल भदौ २३–२४ को जनउभार र त्यसमा कांग्रेसको पराजय, प्रतिपक्षीय भूमिका, निर्वाचन र गठबन्धनसम्बन्धी नयाँ नीति तथा कांग्रेसको वैचारिक नवीकरणलाई समेत समेटिएको छ।
‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणालाई अघि सार्दै हरेक महत्त्वपूर्ण सरकारी तथा सार्वजनिक निर्णयमा प्रश्नको जवाफ खोज्ने प्रणाली विकास गर्ने प्रस्ताव गरिएको छ। बजेट खर्च र जिम्मेवार पदाधिकारीको विवरण नागरिकले प्रत्यक्ष हेर्न सक्ने डिजिटल प्रणाली विकास गर्ने विषय पनि प्रतिवेदनमा समावेश छ।

अर्थतन्त्र र निजी क्षेत्र, पूर्ववितरणात्मक न्याय, रोजगारी, बसाइँसराइ र जनसङ्ख्या, कृषि, उद्योग तथा उत्पादन, जलवायु परिवर्तन र हरित विकास, प्रविधि तथा कृत्रिम बुद्धिमत्तालगायतका विषयलाई पनि प्रतिवेदनले प्राथमिकतामा राखेको छ।यसैगरी सामाजिक क्षेत्र, संघीयता र संविधान, सङ्क्रमणकालीन न्याय, राष्ट्रिय स्वाधीनता र बदलिँदो विश्व, राष्ट्रिय मेलमिलापको नयाँ अवधारणा, संगठन सुधार र पाँच पुस्ताको सहयात्रा तथा पार्टीभित्र भ्रष्टाचार नियन्त्रण र आन्तरिक अनुशासनका विषय समेटिएका छन्।कांग्रेसले अब ‘के गर्नेछैनौँ’ भन्ने सार्वजनिक प्रतिबद्धता गर्ने, प्रधानमन्त्रीको दुई कार्यकालको व्यवस्था गर्ने, निर्वाचन सुधार अघि बढाउने तथा सहिद, घाइते र विस्थापितका लागि अक्षयकोष स्थापना गर्ने प्रस्ताव पनि प्रतिवेदनमा गरेको छ।

युवाका लागि विशेष व्यवस्था, ‘समुन्नति’ अवधारणाको कार्यान्वयन समयसीमा लगायतका विषय पनि प्रतिवेदनमा समेटिएका चालिसेले जानकारी दिए।
विशेष महाधिवेशनबाट निर्माण भएको वर्तमान केन्द्रीय समितिको यो अन्तिम बैठक थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij