काठमाडौं : चाडपर्वलाई लक्षित गर्दै नारायणगढ–काठमाडौं सडकखण्डमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।
यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवालाको बैठकले असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते पूर्णिमासम्म ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। खाद्यान्न, औषधि, फलफूललगायत अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने यो रोक लागू हुने छैन।
यसैगरी, दशैंका लागि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गरिने भएको छ। घटस्थापनादेखि कात्तिक १० गतेसम्म लामो तथा मध्यम दूरीका सवारीसाधनको रुट परमिट पनि खुला गरिएको छ।
चाडपर्वमा यात्रु सहायता कक्षको अनुगमनका लागि फोकल पर्सन खटाउने, नयाँ बसपार्क क्षेत्रमा मोबाइल नेटवर्कको क्षमता बढाउन सेवा प्रदायकलाई पत्राचार गर्ने तथा रिजर्भमा जाने सवारीसाधन र यात्रुको विवरण अनिवार्य राख्ने निर्णय पनि बैठकले गरेको छ।
त्यस्तै, दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनको फिटनेस परीक्षण गर्न प्राविधिक कर्मचारी खटाउने निर्णय गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij