भरतपुर : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरको कार्यकारी निर्देशक पदका लागि सात जना उम्मेदवार छनोट भएका छन्। कार्यकारी निर्देशक पदको छनोट सिफारिस समितिको सचिवालयले अन्तर्वार्ताका लागि सात जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो।
अस्पतालको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान गरिएको सूचनाअनुसार तोकिएको समयभित्र अनलाइन आवेदन दिएका उम्मेदवारमध्ये छनोट समितिको निर्णयका आधारमा अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि उम्मेदवारको नाम सार्वजनिक गरिएको हो।
छनोट भएका उम्मेदवारमध्ये डा. अजय कुमार झाको ठेगाना धनुषा, डा. उमेश नेपालको काठमाडौं, डा. कृष्ण सागर शर्माको बागलुङ, डा. गुरू शरण साहको सिराहा, डा. प्रदीप थापाको चितवन, डा. विजय चन्द्र आचार्यको चितवन र डा. रञ्जन भट्ट भण्डारीको ठेगाना कास्की उल्लेख गरिएको छ।
सूचनाअनुसार छनोट भएका उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुतीकरण यही असोज २२ गते बिहीबार बिहान १० बजेदेखि हुने भएको छ। अन्तर्वार्ता तथा प्रस्तुतीकरण नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (रामशाहपथ) को नयाँ भवनमा हुने सूचनामा उल्लेख छ। उम्मेदवारहरूलाई भने आवश्यक कागजातसहित बिहान ९:३० बजे नै परिषद्को कार्यालयमा उपस्थित हुन भनिएको छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारहरूबाट अनलाइन आवेदन माग गरिएको थियो। सूचनाअनुसार असोज १९ गते राति १२ बजेसम्म अनलाइन आवेदन दिने समय तोकिएको थियो।
अन्तर्वार्ता तथा प्रस्तुतीकरणपछि छनोट समितिले कार्यकारी निर्देशक पदका लागि उम्मेदवारको मूल्यांकन गरी सिफारिस गर्नेछ। अस्पतालको नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका यी सात जनामध्येबाट योग्य उम्मेदवार छनोट हुनेछन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij