Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवन उद्योग संघको साधारणसभा असोज २६ मा, कानूनमन्त्री गौतमले उद्घाटन गर्ने

चितवन उद्योग संघको साधारणसभा असोज २६ मा, कानूनमन्त्री गौतमले उद्घाटन गर्ने

भरतपुर : चितवन उद्योग संघको ३५ औं वार्षिक साधारणसभालाई नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवम् चितवन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य सोविता गौतमले असोज २६ गते सोमबार बिहान ११ बजे समुद्घाटन गर्नुहुने भएको छ।
संघले तीनै तहका सरकार र सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय गर्दै स्वदेशी उद्योगको प्रवर्द्धन, लगानीमैत्री नीति–नियम निर्माणका लागि पैरवी तथा उद्योगीहरूको हकहित संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको छ। साधारणसभामा संघको १८ औं कार्यसमितिले आफ्नो कार्यकालमा गरेका औद्योगिक प्रवर्द्धनसम्बन्धी गतिविधि र क्रियाकलापहरूको समीक्षा गर्दै आगामी कार्यदिशा तय गर्ने जनाइएको छ।

देशको समग्र आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि औद्योगिक विकास अपरिहार्य रहे पनि झन्झटिला नीतिगत र कानूनी प्रावधानहरू अझै मुख्य चुनौतीका रूपमा रहेका छन्। कानून मन्त्रीको प्रमुख आतिथ्यतामा हुन लागेको यस साधारणसभालाई उद्योगीहरूले नीतिगत स्पष्टता र कानूनी सुधारका दृष्टिले विशेष अवसरका रूपमा लिएका छन्।साधारणसभामा औद्योगिक व्यवसाय ऐनअन्तर्गतको एकल विन्दु सेवा केन्द्रको पूर्ण कार्यान्वयन, उद्योग स्थापनाका लागि जग्गा प्राप्ति तथा हदबन्दीसम्बन्धी कानूनी जटिलताको समाधान, र सरकारी निकायहरूमा स्वदेशी वस्तु खरिद अनिवार्य गर्ने कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनबारे घनीभूत छलफल हुनेछ। साथै, तीन तहका सरकारबीच देखिने दोहोरो कर प्रणाली र क्षेत्राधिकारसम्बन्धी कानूनी अन्योल हटाउँदै लगानी सुरक्षाको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गराइने संघले जनाएको छ।चितवनलाई देशकै प्रमुख आर्थिक तथा औद्योगिक हबका रूपमा अघि बढाउन आवश्यक रणनीतिक योजनाहरू साधारणसभाबाट पारित गरी नीतिगत सुधारका लागि सरकारसमक्ष ठोस रूपमा प्रस्तुत गरिने तयारी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट