विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा जिल्लाका ७४ वटा व्यावसायिक फर्मको अनुगमन गरिएको छ । अनुगमनका क्रममा विभिन्न नियम उल्लङ्घन गर्ने २९ वटा फर्मलाई कुल ६ लाख ९२ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।उपभोक्ताको हित संरक्षण, बजारमा वस्तुको गुणस्तर, मूल्य, नापतौलको शुद्धता तथा व्यावसायिक पारदर्शिता कायम गर्ने उद्देश्यले विराटनगर महानगरपालिका तथा आसपासका बजार क्षेत्रमा संयुक्त अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा बिल–विजक जारी नगर्ने, खरिद–बिक्री खाता दुरुस्त नराख्ने तथा करसम्बन्धी मापदण्ड पालना नगर्ने १९ वटा फर्मलाई १ लाख ९२ हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै, लेबल नगरिएका, रि–प्याकेजिङ गरिएका तथा म्याद गुज्रिएका सामग्री बिक्री गर्ने पाँच वटा फर्मलाई ७५ हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ।अनुगमनका क्रममा दर्ता–नवीकरण नगरी सञ्चालनमा रहेका तीन वटा फार्मेसीसमेत सिल गरिएको छ । औषधि ऐन तथा सम्बन्धित मापदण्ड पालना नगरेको पाइएपछि ती फार्मेसीमा कारबाही गरिएको हो।
त्यसैगरी, विराटनगर–९ स्थित एक पसलमा ४५० किलो चिनी गोदाममा सुपारी भण्डारण गरिएको अवस्थामा फेला परेको थियो । उक्त सामग्री नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमार्फत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।अनुगमन टोलीले विराटनगर–६ स्थित सेन्ट्रल मलमा व्यवसाय सञ्चालन गरिरहेका दुई चिनियाँ नागरिकले समेत कानुन विपरीत गतिविधि गरेको फेला पारेपछि उनीहरूलाई प्रहरीमार्फत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, काठमाडौँ पठाइएको जनाएको छ।
प्रशासनले सबै व्यवसायीलाई फर्म दर्ता तथा नवीकरण अद्यावधिक राख्न, उपभोक्ता वस्तुको अनिवार्य मूल्य सूची टाँस्न, नापतौलका साधन प्रमाणित गराउन तथा अनिवार्य रूपमा बिल-विजक जारी गरी कारोबार गर्न निर्देशन दिएको छ।साथै, म्याद नाघेका तथा अखाद्य वस्तु बिक्री वितरण गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि प्रचलित कानुनबमोजिम कारबाही निरन्तर गरिने प्रशासनले जनाएको छ। उपभोक्तालाई पनि सामान खरिद गर्दा उत्पादन तथा म्याद समाप्ति मिति हेरेर मात्र खरिद गर्न र ठगी वा अनियमितता देखिएमा सम्बन्धित सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij