काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज मतदान हुँदै छ। बिहीबारका लागि तय गरिएको मतदान आज हुन लागेको हो।
महाधिवेशन प्रतिनिधिहरूलाई बिहान ६ बजे नै निर्वाचन क्षेत्रमा उपस्थित हुन भनिएको छ। बिहान ७ बजेबाट सुरु हुने मतदान दिउँसो ३ बजेसम्म हुनेछ। मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ। शुक्रबार साँझ ५ बजेसम्म मतदानको सबै प्रक्रिया पूरा हुने दाबी गरिएको छ।
मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ। शुक्रबार मतदान भएपछि मतपेटिकाहरू मतगणनाका लागि कांग्रेस केन्द्रीय कार्यालय, सानेमा लगिनेछ।
पार्टी कार्यालयमा १२ देखि १३ स्थानमा एकैपटक मतगणना गर्ने समितिको तयारी छ। मतगणनाका लागि पाँचसय कानुन व्यवसायी तयारी अवस्थामा राखिएको छ।
यसैबीच, निर्वाचन समितिले बिहीबार साँझ मात्र मतपत्र छपाइको काम सकिएको जनाएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार, महाधिवेशनमा ८५० जनाले मनोनयनपत्र दर्ता गराएका थिए। उनीहरूको उमेदवारीको वैधता परीक्षण गर्न धेरै समय लागेकाले मतपत्र छपाइमा ढिलाइ भएको हो।
कुल २३ वटा मतपत्र डिजाइन गर्दा जम्मा एक लाख ८० हजार आवश्यक पर्ने भए पनि समितिले दुई लाख प्रति मतपत्र छापेको छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मतदान सकिएको तीन दिनभित्र सबै नतिजा सार्वजनिक गरिने बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij