काठमाडौं : आईसीसी विश्वकप लिग टु अन्तर्गत ओमानमा घरेलु टोलीसहित नेपाल र क्यानडा सम्मिलित त्रिकोणात्मक सिरिज आजदेखि सुरु हुँदैछ।पहिलो खेलमा आज घरेलु टोली ओमान र क्यानडा खेल्नेछन्। खेल नेपाली समय अनुसार विहान ११ बजे अल इमारात रंगशालामा हुनेछ। नेपालको पहिलो खेल आइतबार क्यानडासँग खेल्नेछ।
२०२४ देखि जारी लिग टु अन्तर्गत नेपाल र क्यानडाका लागि यो अन्तिम तथा निर्णायक सिरिज हो। ३२ खेलबाट २४ अंक जोडेको नेपाल र समान खेलबाट १ अंक बढी जोडेको क्यानडालाई ओडिआई मान्यता जोगाउँदै विश्वकपको ग्लोबल छनोटमा पुग्न जितको विकल्प छैन।
टी २० फरम्याटमा शान्दार प्रदर्शन गर्दै आएको नेपालका लागि एक दिवसीय क्रिकेट सुखद हुन सकेको छैन्। २०२४ देखि सुरु भएको दोस्रो संस्करणको लिग टु मा नेपालको अवस्था निराशाजनक छ ।
३२ खेलमा २४ अंकमात्र जोडेको नेपाल तालिकाको सातौं स्थानमा छ। ओमानमा हुने सिरिज नेपालका लागि अन्तिम सिरिज हो। जहाँ नेपाललाई जितको विकल्प छैन्। ८ टोली सहभागी लिग टु को शीर्ष ४ टोली ओडिआई मान्यता सुरक्षित राख्दै विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन्।
अहिले ३१ अंकसहित चौंथो स्थानमा रहेको ओमानभन्दा नेपाल ७ अंकले पछि छ। यो अन्तिम सिरिजका ४ वटै खेल जितेको खण्डमा नेपालले ओमानलाई उछिन्दै शीर्ष ४ मा स्थान बनाउने सम्भावना छ।
तर योसहित १ सिरिज बाँकी रहेको ओमान र शीर्ष ४ कै दौडमा रहेका नामिबिया र क्यानडाको पनि सम्भावना कायम रहेकाले नेपाललाई आफ्नो जितले मात्र पुग्दैन।
शीर्ष ३ स्थानमा रहँदै अमेरिका, स्कटल्याण्ड र नेदरल्याण्ड्ले विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसक्दा अब १ स्थानका लागि नेपालसहित ४ टोलीबीच प्रतिस्पर्धा छ।
यो सिरिज पनि गुमाएमा नेपालको ओडीआई र विश्वककप छनोट पुग्ने सम्भावना भने कायमै रहन्छ। लिग टु को तल्लो ४ स्थानमा रहने टोलीले क्वालिफार्यस प्लेअफमा अन्तिम मौका पाउनेछ।
जहाँ च्यालेन्ज लिगबाट आउने उत्कृष्ट ४ वटा टोलीसँग खेल्नु पर्ने हुन्छ। च्यालेन्ज लिगमा अहिले सहभागी १२ टोलीलाई २ समूहमा विभाजन गरि खेल भइरहेको छ। नेपालले दोस्रो खेलमा मंगलबार ओमानसँग, तेस्रो खेल ३१ गते क्यानडा र अन्तिम खेलमा कार्तिक २ गते ओमानसँग खेल्नेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij