Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदानअधिकृतका लागि प्रशिक्षण कार्यक्रम आइतबारदेखि सुरु भएको छ‍।

बाँकेका प्रमुख निर्वाचन अधिकृत दीपककुमार दाहालले सो प्रशिक्षणको शुभारम्भ गर्दै अपेक्षा नगरेको समयमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनुपरेको बताए। उनले भने “निर्वाचनलाई तनावका रुपमा लिन हुँदैन र त्यसलाई तनावका रुपमा लिँदा कठिनाइ आउन सक्ने भएकाले तनावको व्यवस्थापन गर्न सिक्नुपर्छ, जान्नुपर्छ र गर्नुपर्छ।”उनले आगोको सानो झिल्कोले वन सखाप पारे जस्तै हाम्रा बोली, बचन र व्यवहारको सानो रुपले ठूलो रुप लिन सक्छ भन्ने कुरामा सचेत हुन जरुरी रहेको उल्लेख गरे।

हरेक बोली र आचरणलाई होसियारिपूर्वक लिनुपर्नेमा जोड दिँदै मुख्य निर्वाचन अधिकृत दाहालले मतदान केन्द्रमा आउने अशक्त, धेरैबेर उभिन नसक्ने मतदाताका लागि स्थानीय तहको सहयोगमा टेन्टको व्यवस्थापन गर्न आग्रह गरे। “आचरण र अनुशासनलाई नियन्त्रणमा राख्ने जिम्मा यहाँहरुको हातमा छ”, उनले भने। आचरणको विषय निर्वाचन कसुरसँग जोडिएको जानकारी दिनुहुँदै मुख्य निर्वाचन अधिकृत दाहालले विभागीय कारबाहीसँगै निर्वाचन कसुरमा कारबाही हुने चेतावनी दिएक। बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतले निर्वाचन आचारसंहिता पालना गरेको वा नगरेको भन्ने विषयमा निगरानीमा रहेको बताए।

उनले मतदातामध्ये अनुपस्थित मतदाताको पनि मतदान गर्ने चेष्टा हुनसक्ने भएकाले त्यसमा सर्तकता अपनाउन आग्रह गर्दै निर्वाचनको कार्यविधि अनुसार कडाइ गर्न निर्देशन दिए। “मतदातामध्ये अनुपस्थित मतदाताको मतदान भयो भने भयावह अवस्था हुनसक्छ।” प्रमुख जिल्ला अधिकारी तामाङ्ले भने। बाँकेको सुरक्षा संवेदनशीललाई ध्यान दिएर सुरक्षाकर्मी परिचालन गरिएको उल्लेख गर्दै उनले मतदानस्थलमा मतदानको वातावरण निर्माण गर्न स्थानीय तहको वडा कार्यालयबाट प्राप्त हुने स्रोतसाधनको सदुपयोग गर्न आग्रह गरे। तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा ४०३ मतदान केन्द्र रहेका छन्।

यी मतदान केन्द्रमा ८०० मतदान अधिकृत तथा सहायक मतदान अधिकृत परिचालन हुने जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ। यही फागुन १४ गतेसम्म हुने प्रशिक्षणमा १६० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत सहभागी भएका छन्। सो प्रशिक्षण चरण चरणमा हुने र नमूना मतदान अभ्याससमेत हुने निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट