काठमाडौँ : सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी शंकरलाल अग्रवालको बन्दीप्रत्यक्षीकरण रिट दर्ता गर्न अस्वीकार गरेको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा दर्ता गर्नै अस्वीकार गरेको हो।
सर्वोच्च प्रशासनले बन्दीप्रत्यक्षीकरणको रिट दरपिठ गरेपछि अग्रवालको तर्फबाट इजलासमा निवेदन दिइएको थियो। इजलासले पनि रिट दर्ता नगर्ने प्रशासनको आदेशलाई सदर गरेको हो ।
गत असोज १३ गते विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले अग्रवाललाई सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा पठाउने आदेश दिएको थियो । विशेष अदालतले थुनामा पठाउने आदेश दिएपछि अग्रवालले बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए।
यसअघि गत साउन ७ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको वाणिज्य इजलासले अग्रवाललाई बैंकिङ कसुर मुद्दामा नख्खु कारागार पठाउन आदेश दिएको थियो ।
जगदम्बा स्टिलको खाता सञ्चालन गर्ने अधिकार पाएका परिवारका सदस्यहरूले व्यावसायिक प्रयोजनका लागि लिएको ऋण अन्यत्र प्रयोग गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ बमोजिमको कसुर गरेको देखिन आएको भन्दै अदालतले थुनामा पठाउन आदेश दिएको थियो ।
तर उनलाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । बैंकिङ कसुर मुद्दामा धरौटीमा छुटे पनि सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij