काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले आफ्ना श्रीमान् थोमसलाई पशुपतिनाथ मन्दिरको भित्री भागमा प्रवेशको अनुमति नभएको स्पष्ट पारेकी छन्।सामाजिक सञ्जालमा स्टाटस लेख्दै सांसद तामाङले थोमसलाई बुढेसकालमा पनि भाइरल बनाउने काम भइरहेको भन्दै असन्तुष्टि जनाएकी छन्। उनले थोमस पशुपतिनाथ मन्दिरको ढोकासम्म मात्र पुगेको र भित्र प्रवेश गर्ने अनुमति नभएको बताएकी छन्।
तामाङका अनुसार भारतकी कांग्रेस पार्टीकी नेतृ सोनिया गान्धी नेपाल आएर पशुपतिनाथ मन्दिर पुग्दा पनि मन्दिरको भित्री भागमा प्रवेशको अनुमति नदिइएको आफूले त्यही दिन सुरक्षाकर्मीबाट जानकारी पाएकी थिइन्।
‘आफ्नो–आफ्नो धर्मको नियम हुन्छ, संविधानका विधान जस्तै धर्मका पनि विधानहरू हुन्छन्, जसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ,’ उनले लेखेकी छन्।
उनले आफू मात्रै मन्दिरभित्र प्रवेश गरेको र त्यहाँका पुजारीले आफूलाई माला, खादा र टीका प्रदान गरेको बताएकी छन्। थोमसका लागि पनि पुजारीले छुट्टै माला र टीका दिएको तथा आफू मन्दिरबाट बाहिर आएपछि थोमसलाई माला र टीका लगाइदिएको सांसद तामाङको भनाइ छ।
उनले सामाजिक सञ्जालमा फैलिएका विषयलाई लिएर अनावश्यक रूपमा थोमसलाई चर्चामा ल्याइएको भन्दै आपत्ति जनाएकी छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij