चितवन : त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक डा. महानन्द चालिसेले विश्वविद्यालयमा वर्षौंदेखि थुप्रिएका समस्या समाधान गर्न कडा कदम चाल्नुपर्ने अवस्था आएको बताएका छन्। सप्तगण्डकी बहुमुखी क्याम्पसमा शुक्रबारदेखि सुरु भएको प्राज्ञिक अनुसन्धानसम्बन्धी तीनदिने राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय सुधारका लागि ‘डोजर लगाउनुपर्ने’ अवस्था आएको टिप्पणी गरे।
उनले विश्वविद्यालयमा राजनीतिकरण, दलीयकरण, प्रशासनिक जटिलता तथा विगतदेखि थाती रहेका विभिन्न समस्याले सुधार प्रक्रियालाई चुनौतीपूर्ण बनाएको बताए। “समस्या नै समस्या भएकाले हामी निमित्त भए पनि सुधारका लागि सक्रिय रूपमा लागिरहेका छौं,” उनले भने। डा. चालिसेले शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय विकाससँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै चीनको आर्थिक रूपान्तरणमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको उदाहरण प्रस्तुत गरे। उनले पाठ्यक्रमलाई बजार, श्रम र उत्पादनसँग प्रभावकारी रूपमा जोड्न नसकिएको भन्दै यसतर्फ गम्भीर समीक्षा आवश्यक रहेको बताए। साथै, विकासका लागि राजनीति आवश्यक भए पनि त्यो नैतिकतामा आधारित हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा व्यवस्थापन संकायका पूर्व डिन प्राध्यापक डा. डिल्लीराज शर्माले शिक्षा र स्वास्थ्यको सुनिश्चितता राज्यको प्राथमिक दायित्व हुनुपर्ने धारणा व्यक्त गरे। आर्थिक विकासबिना शिक्षा क्षेत्रको सुधार सम्भव नहुने उल्लेख गर्दै उनले उद्योग, व्यापार र रोजगारी विस्तारमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए। “विद्यार्थीलाई सीप र ज्ञान मात्र होइन, सकारात्मक सोच र व्यवहार पनि सिकाउनुपर्ने आवश्यकता छ,” उनले भने, “देशमा नैतिकताको खडेरी देखिएको छ, शिक्षाले नै त्यसको समाधान दिन सक्नुपर्छ।”
सम्मेलनमा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. प्रेमसागर भण्डारीले अनुसन्धानमुखी कार्यक्रमको आयोजना गरेकोमा सप्तगण्डकी बहुमुखी क्याम्पसलाई धन्यवाद दिएका थिए। क्याम्पस सञ्चालन समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारीले सम्मेलनलाई औपचारिकतामा सीमित नराखी अनुसन्धान र ज्ञान आदान–प्रदानको प्रभावकारी मञ्चका रूपमा विकास गरिने बताए।
सम्मेलन आयोजक समितिका संयोजक प्रा.डा. कपिलदेव सुवेदीले सम्मेलनको उद्देश्य, आवश्यकता र संरचनाबारे जानकारी गराएका थिए भने क्याम्पस प्रमुख खिमलाल दाहालले स्वागत मन्तव्य व्यक्त गरेका थिए। सम्मेलनको पहिलो दिन १४ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरी छलफल गरिएको थियो। आगामी दुई दिनमा थप ४४ वटा अनुसन्धान प्रतिवेदनमाथि छलफल हुने आयोजकले जनाएको छ। सम्मेलनमा शिक्षाविद्, अनुसन्धानकर्ता, नीतिनिर्माता, व्यावसायिक क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीहरूको सहभागिता रहेको छ।
दिगोपना, रूपान्तरणकारी शिक्षा, दिगो व्यवस्थापन तथा प्रविधिमा आधारित नवीन अभ्यासबारे केन्द्रित सम्मेलनले उच्च शिक्षामा अनुसन्धान संस्कृति प्रवर्द्धन, शैक्षिक नवप्रवर्तन र अन्तरसंस्थागत सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा आयोजित सम्मेलनमा भरतपुर महानगरपालिका, चितवन उद्योग वाणिज्य संघ तथा मौलाकालि केबलकार लिमिटेडले सहकार्य गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij