चितवन : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र भइरहेका बेला चितवन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिका लागि विकास पौडेलले उम्मेदवारी घोषणा गर्नुभएको छ । शिक्षण, सामाजिक सेवा र पार्टी संगठनमा लामो अनुभव हासिल गर्नुभएका पौडेलले क्षेत्रीय संगठनलाई थप सुदृढ, व्यवस्थित र क्रियाशील बनाउने प्रतिबद्धतासहित आफ्नो दाबी प्रस्तुत गर्नुभएको हो ।
पौडेलले आफू राजनीतिमा पद र व्यक्तिगत अवसरका लागि नभई संगठन, कार्यकर्ता र जनताको सेवाका लागि सक्रिय हुँदै आएको बताउनुभएको छ । उहाँले नेतृत्वलाई अधिकार प्राप्त गर्ने माध्यमभन्दा जिम्मेवारी वहन गर्ने अवसरका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभएको छ ।
पार्टी संगठनमा लामो समयदेखि सक्रिय पौडेलको उम्मेदवारीसँगै उहाँको विगतको राजनीतिक त्यागसमेत चर्चामा आएको छ । वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका–७ को वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट आधिकारिक टिकट पाए पनि सत्ता गठबन्धनको निर्णय र पार्टीको सांगठनिक हितलाई प्राथमिकता दिँदै उहाँले उम्मेदवारी फिर्ता लिनुभएको थियो ।
व्यक्तिगत रूपमा निर्वाचन लड्ने अवसर हुँदाहुँदै पार्टीको निर्णय स्वीकार गरेर उम्मेदवारी फिर्ता लिनुलाई पौडेलले संगठनप्रतिको आफ्नो प्रतिबद्धताको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ । त्यसअघि र त्यसपछि पनि उहाँले पार्टीको निर्णय, अनुशासन र संगठनको हितलाई प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ ।
कांग्रेसको राजनीति र सामाजिक सेवामा पूर्ण रूपमा सक्रिय हुने उद्देश्यले पौडेलले करिब १५ वर्ष लामो शिक्षण पेसासमेत छाड्नुभएको थियो । चितवनका विभिन्न विद्यालय तथा कलेजमा कम्प्युटर विषय अध्यापन गराउनुभएका उहाँले शिक्षणमार्फत नयाँ पुस्तालाई प्रविधिसँग जोड्ने काम गर्नुभएको थियो ।
पर्वतबाट चितवन बसाइँ सरेको परिवारमा जन्मनुभएका पौडेलले शारदपुर माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गर्नुभएको हो । उहाँले व्यवस्थापन संकायमा स्नातकोत्तर तथा कम्प्युटर एप्लिकेसनमा स्नातक तहको अध्ययन गर्नुभएको छ । शिक्षणबाहेक सहकारी तथा सामाजिक क्षेत्रमा समेत सक्रिय रहनुभएका पौडेलले लायन्स क्लब लगायतका संस्थामा विभिन्न जिम्मेवारी सम्हाल्नुभएको छ । सामाजिक क्षेत्रको यही अनुभवलाई पार्टी संगठनसँग जोड्दै उहाँले क्षेत्र नम्बर २ मा कार्यकर्तासँग प्रत्यक्ष संवाद, संगठनको विस्तार र आन्तरिक एकतालाई प्राथमिकता दिने बताउनुभएको छ ।
‘राजनीति पदका लागि होइन, सेवाका लागि हो र नेतृत्व अधिकारका लागि होइन, जिम्मेवारीका लागि हो’ भन्ने मान्यता राख्दै आएका पौडेलले कांग्रेसको क्षेत्रीय संगठनलाई अझ गतिशील र जनमुखी बनाउने संकल्प व्यक्त गर्नुभएको छ । क्षेत्र नम्बर २ को संगठनलाई बलियो बनाउन कार्यकर्ताको भूमिका र सुझावलाई केन्द्रमा राख्ने, पार्टीभित्रको संवादलाई प्रभावकारी बनाउने तथा संगठनलाई जनतासँग थप जोड्ने आफ्नो प्राथमिकता रहेको उहाँको भनाइ छ । १५औँ महाधिवेशनको सांगठनिक सरगर्मी बढिरहेका बेला क्षेत्रीय सभापतिका लागि पौडेलको उम्मेदवारीसँगै चितवन कांग्रेसको आन्तरिक प्रतिस्पर्धा थप रोचक बनेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij