चितवन : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै चितवनमा क्षेत्रीय नेतृत्वका लागि आकांक्षीहरू अघि बढ्न थालेका छन् । यसैक्रममा भरतपुर महानगरपालिका–२ निवासी युवा पोल्ट्री व्यवसायी तथा समाजसेवी मनोज रानाभाटले नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको विचार, आदर्श र संगठनसँग जोडिएको बताउने रानाभाटले वडा तथा टोल तहमा सक्रिय भएर काम गर्दै आएको बताउनुभएको छ । उहाँले भरतपुर–२ मा दुई पटक बूथ सभापति तथा वडा सभापतिको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ ।
लामो समयदेखि संगठन निर्माण र स्थानीयस्तरका समस्या समाधानमा सक्रिय रहेको उल्लेख गर्दै रानाभाटले टोल, वडा हुँदै नगर तहसम्म पार्टी संगठनलाई जनतासँग जोड्ने काममा आफूले भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ ।
क्षेत्रीय सभापतिमा आफ्नो उम्मेदवारी युवाको ऊर्जा र अग्रजहरूको अनुभवलाई एकै ठाउँमा जोडेर संगठनलाई नयाँ गति दिने उद्देश्यले अघि सारेको उहाँको भनाइ छ ।
“युवाले नेतृत्व पाएपछि उनीहरूले कस्तो कांग्रेस बनाउँछन् भन्ने प्रश्नलाई मैले आफ्नो राजनीतिक जिम्मेवारीको केन्द्रमा राखेको छु,” रानाभाटले भन्नुभयो ।
उहाँले क्षेत्रीय संगठनलाई टोलदेखि क्षेत्रीय तहसम्म थप बलियो, जनमुखी र समावेशी बनाउने योजना अघि सार्नुभएको छ । विशेषगरी क्षेत्र नम्बर २ अन्तर्गतका इच्छाकामना र कालिकालाई भरतपुरसँग राजनीतिक, सामाजिक, स्वास्थ्य तथा विकासका सवालमा थप मजबुत रूपमा जोड्ने आफ्नो प्राथमिकता रहेको उहाँले बताउनुभएको छ ।
दुर्गम तथा सीमान्तकृत समुदायका शिक्षा, स्वास्थ्य, सडक, रोजगारी, कृषि, सामाजिक सुरक्षा तथा आधारभूत सेवासम्बन्धी समस्यालाई स्थानीय तहमा सीमित नराखी क्षेत्रीय तथा केन्द्रीय तहसम्म पुर्याएर समाधानका लागि संस्थागत पहल गर्ने रानाभाटको प्रतिबद्धता छ ।
“भरतपुरलाई मात्र केन्द्रमा राखेर होइन, इच्छाकामना र कालिकासहित सम्पूर्ण क्षेत्रलाई एउटै राजनीतिक, सामाजिक र विकासको वृत्तमा जोडेर अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो ।
अग्रजहरूको अनुभव, युवाको ऊर्जा र प्रविधिको प्रयोगलाई एकीकृत गर्दै नयाँ पुस्ताको अपेक्षाअनुसार पार्टी संगठन निर्माण गर्ने आफ्नो लक्ष्य रहेको रानाभाटले बताउनुभएको छ । उहाँले क्षेत्र नम्बर २ मा कांग्रेसलाई थप जीवन्त, उत्तरदायी र जनतासँग प्रत्यक्ष जोडिएको संगठनका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पोल्ट्री व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहनुभएका रानाभाटको उम्मेदवारीसँगै कांग्रेस चितवन क्षेत्र नम्बर २ को आगामी क्षेत्रीय नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा थप चासोको विषय बनेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij