काठमाडौं : अमेरिकाले सेप्टेम्बर २३ अर्थात् भोलिदेखि विश्वभर ईरानी एयरलाइन्सका लागि हवाई क्षेत्र बन्द गरिने घोषणा गरेको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टको यो घोषणासँगै टर्की, इराक र जर्जियाले पनि ईरानी एयरलाइन्सलाई आ–आफ्ना देशमा प्रवेशमा रोक लगाउने घोषणा गरेका छन्।
समाचार एजेन्सी एएफपीका अनुसार इराकी अधिकारीले अमेरिकी घोषणापछि इराकले इरानी एयरलाइन्सका उडानहरू स्थगन गर्ने बताएका छन्। त्यसलगत्तै जर्जियाले पनि ईरानी एयरलाइन्सलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। यसअघि शनिबार ईरानी एयरलाइन महान एयरले टर्की सरकारको आग्रहमा टर्कीका लागि आफ्ना उडानहरू स्थगन गरेको घोषणा गरेको थियो।
करिब दुई साताअघि अमेरिकी ट्रेजरी विभागले २७ वटा ईरानी एयरलाइन्सलाई आफ्नो प्रतिबन्धित सूचीमा समावेश गरेको थियो।
यसैबीच, बेलायतले यमनी हुथी समूहको आक्रमणलाई मध्यनजर गर्दै साउदी अरेबियालाई डिफेन्सिभ एयर–टु–एयर रिफ्युलिंग सिस्टम सहयोग उपलब्ध गराउने भएको छ।
साउदी अरेबियातर्फबाट सैन्य सहायताको माग गरिएपछि यो निर्णय गरिएको प्रधानमन्त्री एन्डी बर्नहमले बताउनु भएको छ । यो सहयोग आउँदो केही दिनभित्रै सुरु हुने अनुमान गरिएको छ।
यस अन्तर्गत बेलायतको एक भोयजर विमान साइप्रसस्थित आरएएफ अक्रोटिरीबाट सञ्चालन हुनेछ। अधिकारीहरूले यो सहायता सीमित समयका लागि मात्र हुने र सुरुमा केही सातासम्म जारी रहने सम्भावना रहेको बताएका छन्।
हालैका दिनहरूमा यमनको हुथी समूहले साउदी अरेबियाको राजधानी रियादलाई निशाना बनाएर रकेट तथा क्षेप्यास्त्र आक्रमण गर्दै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij