Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

यूएन महासचिव गुटेरेसले भने–नेपाल जस्ता कमजोर देशहरूले जलवायु न्याय पाउनैपर्छ

यूएन महासचिव गुटेरेसले भने–नेपाल जस्ता कमजोर देशहरूले जलवायु न्याय पाउनैपर्छ

काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तीन वर्षअघि सगरमाथाको काखबाट दिएको चेतावनीलाई नेपालमा हालै देखिएका बाढी तथा पहिरोजस्ता विनाशकारी प्राकृतिक विपद्ले थप पुष्टि गरेको बताएका छन्।

मंगलबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले जलवायु परिवर्तनको असर सोचेभन्दा निकै छिटो र भयावह रूपमा देखापरिरहेको उल्लेख गरे।

सम्बोधनका क्रममा उनले भने–‘तीन वर्षअघि नेपालका हिमालहरूबाट मैले ‘विश्वको छानो खसिरहेको’ र हिउँ तीव्र गतिमा पग्लिरहेको चेतावनी दिएको थिएँ। कतिपयले त्यसलाई बढाइचढाइ गरिएको भनेर पन्छ्याए पनि अहिलेका दुःखद घटनाहरूले यसको असर छिट्टै आइपुगेको प्रमाणित गरेका छन्।’

महासचिव गुटेरेसले जलवायु परिवर्तनको मार नेपालजस्ता साना तथा कम उत्सर्जन गर्ने देशहरूले व्यहोर्नुपरेको तर न्याय नपाएको स्पष्ट पारे।

उनले भने–‘जलवायु परिवर्तनको मूल्य प्रदूषकहरूले नै तिर्नुपर्छ। प्रभावमा परेका कमजोर देशहरूले जलवायु न्याय पाउनैपर्छ ।’ साथै, ‘हानि तथा नोक्सानी कोष’ मा रकम लाजमर्दो रूपमा कम भएको भन्दै विकसित तथा धनी राष्ट्रहरूले अनुकूलन वित्तलाई तेब्बर बनाउनुपर्ने माग गरे।

उनले ठूला तेल कम्पनीहरूले वायुमण्डललाई प्रदूषणको माध्यम बनाएर अथाहा नाफा कमाएको आरोप लगाए। युक्रेनमा रुसी आक्रमणपछि मात्रै पाँच ठूला पश्चिमी तेल कम्पनीहरूले ५०० अर्ब डलर नाफा कमाएको तर विकासशील देशका लागि अनुकूलन वित्त ३४ अर्ब डलरमा मात्रै सीमित रहेको तथ्याङ्क उनले प्रस्तुत गरे।

महासचिव गुटेरेसले म्यानमार, सुडान, युक्रेन र मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय नियमहरू कमजोर बन्दै गएकोप्रति पनि चिन्ता व्यक्त गरे।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा जारी महासभाको उच्चस्तरीय बहस बिहीबारसम्म चल्नेछ। उक्त महासभालाई सम्बोधन गर्न प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ मंगलबार साँझ अमेरिका प्रस्थान गरिसकेका छन्।

उनले सेप्टेम्बर २४ मा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिबारे विश्वसामु कुरा राख्दै उचित क्षतिपूर्तिको माग गर्ने कार्यक्रम रहेको छ।

महासचिव गुटेरेसले विश्वले सामना गरिरहेका ‘शक्तिका चार ठूला परीक्षा’ प्रस्तुत गरेका छन्।गुटेरेसले मानिसले क्रमशः आफ्नो शक्ति मेसिनलाई हस्तान्तरण गरिरहेको बताए ।

तीव्र गतिमा विकसित भइरहेको कृत्रिम बौद्धिकता (एआई)का कारण ‘कृत्रिम प्रणालीहरू नियन्त्रणबाहिर जाने’ र स्वचालित घातक हतियार विज्ञान कथाबाट सैन्य वास्तविकतातर्फ अघि बढिरहेको उनले चेतावनी दिए।

विश्व स्पष्ट रूपमा बहुध्रुवीयतातर्फ अघि बढिरहेको उल्लेख गर्दै गुटेरेसले त्यसको स्वरूप भने फरक(फरक हुन सक्ने बताए। उनका अनुसार एउटा बाटो बढ्दो तनाव र गहिरिँदो अविश्वाससहितको विखण्डित विश्वतर्फ जाने हो।

अर्को सम्भावना भनेको अन्तर्राष्ट्रिय कानून र साझा नियमको साझा ढाँचाभित्र प्रभावका विभिन्न केन्द्रहरू सहअस्तित्वमा रहने विश्व निर्माण गर्नु रहेको उनले बताए।

महासचिव गुटेरेसले भविष्य चारवटा ‘ठूला शक्ति–परीक्षा’ लाई कसरी सम्बोधन गरिन्छ भन्नेमा निर्भर रहने बताए। युद्ध र शान्तिमाथिको शक्ति, सम्पत्ति केन्द्रित गर्दै असमानता बढाउने शक्ति, जलवायु संकटलाई तीव्र बनाउने शक्ति र कृत्रिम बौद्धिकताबाट उत्पन्न शक्तिलाई उनले जोड दिएका थिए।

त्यस्तै महासचचिव गुटेरेसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अफ्रिकालाई कम्तीमा एक स्थायी सदस्यता दिनुपर्ने माग पनि गरेका छन्। महासभामा उपस्थित नेताहरूको तालीबीच उनले २१औँ शताब्दीको सुरक्षा परिषदमा अफ्रिकाको स्थायी प्रतिनिधित्व नहुनु अन्यायपूर्ण र अस्वीकार्य रहेको बताए। ‘यो परिवर्तन हुनैपर्छ,’ उनले भने।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा चीन, फ्रान्स, रुस, बेलायत र अमेरिका गरी पाँच स्थायी सदस्य छन्। दोस्रो विश्वयुद्धको अन्त्यतिर कायम रहेको विश्व व्यवस्थालाई प्रतिबिम्बित गर्ने संरचना भएको भन्दै सुरक्षा परिषद्को लामो समयदेखि आलोचना हुँदै आएको छ। त्यतिबेला अफ्रिकाका धेरैजसो मुलुक औपनिवेशिक शासनमा थिए।

सुरक्षा परिषद्का १० अस्थायी सदस्य क्षेत्रीय आधारमा चयन हुन्छन्। तर पाँच स्थायी सदस्यको विपरीत उनीहरूलाई ‘भिटो’ प्रयोग गर्ने अधिकार हुँदैन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij