Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

रत्ननगरमा भू–उपयोग वर्गीकरण सार्वजनिक, ३९.२६ प्रतिशत जग्गा आवासीय क्षेत्रमा

रत्ननगरमा भू–उपयोग वर्गीकरण सार्वजनिक, ३९.२६ प्रतिशत जग्गा आवासीय क्षेत्रमा

चितवन : रत्ननगर नगरपालिकाले नगर क्षेत्रभित्रका जग्गाको भू–बनोट, उपयोग र अवस्थिति अध्ययन गरी तयार पारिएको कित्तागत भू–उपयोग वर्गीकरणको अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छ। नगरपालिकाले वर्गीकरणसम्बन्धी विस्तृत प्रतिवेदन मालपोत तथा नापी कार्यालयलाई समेत हस्तान्तरण गरेको छ।

रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठक र प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालको नेतृत्वमा गएको टोलीले जिल्लास्थित मालपोत तथा नापी कार्यालय पुगेर अन्तिम प्रतिवेदन बुझाएको हो।

प्रतिवेदन हस्तान्तरणसँगै अब जग्गाको कित्ताकाट, दाखिला खारेज, किनबेच तथा दर्ता स्रेस्ता लगायतका प्रशासनिक कार्य स्वीकृत भू–उपयोग वर्गीकरणका आधारमा गर्न र गराउन नगरपालिकाले सम्बन्धित कार्यालयलाई अनुरोध गरेको छ।

वर्गीकरण कार्यान्वयनका क्रममा आउन सक्ने व्यावहारिक समस्या समाधानका लागि सम्बन्धित सरकारी कार्यालयबीच निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता पनि जनाइएको छ। मालपोत कार्यालय भरतपुरले भू–उपयोग ऐन तथा नियमअनुसार वडा तहबाटै वर्गीकरणअनुकूल स्पष्ट सिफारिस प्राप्त हुने व्यवस्थामा ध्यान दिनुपर्ने जनाएको छ।

नगरपालिकाका अनुसार भू–उपयोग वर्गीकरण प्रक्रियामा नापी नक्सामा समेटिएका ७७ हजारभन्दा बढी कित्ता तथा फाइल नक्सा र ब्लक जग्गासहित ३ हजारभन्दा बढी कित्ता गरी कुल ८० हजारभन्दा बढी कित्ता जग्गा समेटिएका छन्।

कुन क्षेत्रमा कति जग्गा?

नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार रत्ननगरमा सबैभन्दा धेरै ३९.२६ प्रतिशत भूभाग आवासीय क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ। त्यसपछि २०.९७ प्रतिशत कृषि क्षेत्र रहेको छ।

त्यस्तै, १८.६० प्रतिशत भूभाग व्यावसायिक क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ भने ०.२७ प्रतिशत औद्योगिक क्षेत्रका लागि छुट्याइएको छ।

वातावरणीय तथा प्राकृतिक संरक्षणका दृष्टिले महत्वपूर्ण ७.४३ प्रतिशत भूभाग वन क्षेत्रमा परेको छ। त्यस्तै बगर तथा सिमसार क्षेत्र २.६४ प्रतिशत र सार्वजनिक उपयोगको क्षेत्र ७.५६ प्रतिशत रहेको छ।

यी प्रमुख क्षेत्रहरूमा गरी कुल ९६.४३ प्रतिशत भूभागको उपयोग निर्धारण गरिएको छ भने बाँकी ३.५७ प्रतिशत भूभाग अन्य क्षेत्रका रूपमा वर्गीकरण गरिएको नगरपालिकाले जनाएको छ।

स्थानीय आवश्यकता र भूमिको उपयुक्तताका आधारमा गरिएको कित्तागत भू–उपयोग वर्गीकरणले रत्ननगरको व्यवस्थित, सुरक्षित तथा दिगो विकासमा सहयोग पुग्ने नगरपालिकाको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट