१६ वर्षीया रक गायिका नेने रोयलले 'अमेरिकाज गट ट्यालेन्ट' (एजीटी) को २१ औँ सिजनको उपाधि जितेकी छिन्।
यो जितसँगै उनी यो ट्यालेन्ट शो जित्ने पहिलो थाई प्रतिस्पर्धी बनेकी हुन् र उनले १० लाख अमेरिकी डलर पुरस्कार पाइन्।
नेनेको जितले थाइल्यान्डभर उत्साह छाएको छ र थाई सरकारले उनलाई ठूलो सपना देख्नेका लागि प्रेरणाको स्रोत भनेको छ।
न्युयोर्क । १६ वर्षीया रक गायिका नेने रोयल चर्चित अमेरिकी रियालिटी शो ‘अमेरिकाज गट ट्यालेन्ट’ (एजीटी) को २१ औँ सिजनको विजेता बनेकी छिन्।
यो उपाधिसँगै उनी यस ट्यालेन्ट शो जित्ने पहिलो थाई प्रतिस्पर्धी बनेर इतिहास रचना गर्न सफल भएकी हुन्।
क्यालिफोर्नियामा आयोजित फाइनल प्रतिस्पर्धामा वास्तविक नाम रत्तिर्कान अमलोय रहेकी नेनेले अमेरिकी रक ब्यान्ड ‘द ह्वाइट स्ट्राइप्स’ को चर्चित गीत ‘सेभेन नेसन आर्मी’ प्रस्तुत गरेकी थिइन्। उनको यो हेभी मेटल प्रस्तुतिले जादुगर, तालिमप्राप्त कुकुर र रोबोट डान्स क्रूजस्ता अन्य नौ जना अन्तिम प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधि चुमेको हो।
उपाधि घोषणासँगै १० लाख अमेरिकी डलर पुरस्कार हात पारेकी नेने मञ्चमै भावुक बनेकी थिइन्। ‘म अहिले धेरै खुसी र भावुक छु,’ सबैको सहयोगका लागि धन्यवाद दिँदै नेनेले भनिन्।
नेनेको यो जितलाई थाइल्यान्डभर निकै उत्साहका साथ उत्सवका रूपमा मनाइँदै छ। विश्वकै ठूलो मञ्चमा देशको नाम राख्न सफल भएकोमा थाई नागरिकहरूले गर्व व्यक्त गरिएका छन् भने थाई सरकारले उनलाई ठूलो सपना देख्ने जोकोहीका लागि ठुलो प्रेरणाको स्रोत भनेको छ।
प्रतियोगिताको सुरुवाती चरणदेखि नै नेने दर्शकहरूको रोजाइमा परेकी थिइन्। अडिसनका क्रममा उनले ‘द क्रेनबेरिज’ को प्रसिद्ध गीत ‘जोम्बी’ गाएर निर्णायकहरूलाई स्तब्ध बनाएकी थिइन्।
उक्त अडिसनको भिडियो सामाजिक सञ्जालमा २ करोडभन्दा बढी पटक हेरिसकिएको छ। नतिजा सार्वजनिक हुनुअघि उनले अमेरिकी रक ब्यान्ड ‘लिङ्किन पार्क’ सँगै मञ्च साझा गर्दै सन् २०२४ को चर्चित गीत ‘द एम्प्टिनेस मेसिन’ प्रस्तुत गरेकी थिइन्।
थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चानविराकुलले नेने रोयललाई बधाई दिँदै उनले थाइल्यान्डको मान बढाएको र सम्पूर्ण थाई जनतामा गौरवको अनुभूति गराएको बताएका छन्। थाई सरकारको सूचना तथा जनसम्पर्क विभागले पनि एक वक्तव्य जारी गर्दै फुकेटकी एक सानो केटीले आफ्नो गिटार र ठूलो सपनाको बलमा क्षमता, मिहिनेत र दृढ सङ्कल्पले जहाँ पनि सफलता दिलाउन सक्छ भन्ने साबित गरेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij