Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

सिक्किममा भारी वर्षापछि भीषण पहिरो, रिम्बीमा धेरै घरमा क्षति

सिक्किममा भारी वर्षापछि भीषण पहिरो, रिम्बीमा धेरै घरमा क्षति

काठमाडौँ : भारतको उत्तरपूर्वी राज्य सिक्किममा लगातार भइरहेको भारी वर्षाका कारण ठूलो पहिरो गएको छ। ग्यालशिङ जिल्लाको रिम्बी गाउँमा गएको पहिरोमा धेरै घर, सरकारी क्वार्टर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। अधिकारीहरूका अनुसार पहिरोका कारण केही घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने केहीमा गम्भीर क्षति पुगेको छ। सरकारी आवाससमेत पहिरोको चपेटामा परेको बताइएको छ। हालसम्म घटनामा मानवीय क्षति भएको विवरण भने आएको छैन।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले रिम्बीमा गएको पहिरोप्रति दुःख व्यक्त गर्दै अवस्था गम्भीर रहेको बताएका छन्। मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा नागरिकको सुरक्षा र कल्याण सरकारको सर्वोच्च प्राथमिकता रहेको बताएका छन्। उनले सम्बन्धित अधिकारीहरूलाई उच्च सतर्कतामा रहन, अवस्थाको निरन्तर निगरानी गर्न तथा नागरिकको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्न निर्देशन दिएको उल्लेख गरेका छन्।

उनले भारी वर्षाका कारण जोखिम बढेकाले नागरिकलाई सतर्क रहन, प्रशासनले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न तथा कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्नसमेत अपिल गरेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार लगातारको वर्षाका कारण ग्यालशिङ जिल्लाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ। रिम्बीमा भएको क्षतिको विवरण संकलन तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनको काम भइरहेको अधिकारीहरूले बताएका छन्।

पहिरोबाट भएको क्षतिको दृश्य समाचार एजेन्सी एएनआईले सार्वजनिक गरेको भिडियोमा समेत देखाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij