Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

असोज महिनामै कोरला नाका क्षेत्रमा हिमपात

असोज महिनामै कोरला नाका क्षेत्रमा हिमपात



मुस्ताङ : समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरला नाका क्षेत्रमा हिमपात भएको छ । बिहीबार रातिको हिमपातले कोरला नाका क्षेत्र सेताम्मे भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार, मुस्ताङमा बिहीबारदेखि निरन्तर वर्षा भइरहँदा उपल्लो मुस्ताङको नेपाल–चीन उत्तरी कोरला नाका क्षेत्रमा हिमपात भएको हो ।कोरला नाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ ।

बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरला नाका क्षेत्रमा असोज महिनामै हिमपात भएको हो । हिमपातका कारण उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन् । 

कोरला नाका क्षेत्रमा हिमपात भइरहँदा लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा भएको छ । बस्तीदेखि माथिका उच्च लेकमा आंशिक हिमपात भइरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । वर्षा र हिमपातसँगै उपल्लो क्षेत्रमा चिसो बढ्न थालेको एक्याप प्रमुख पौडेलको भनाइ छ ।

नेपाल मौसम विज्ञान विभागले बिहीबारदेखि लगातार चार दिनसम्म भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने चेतावनी दिएको थियो । मुस्ताङको कोरला नाका क्षेत्रमा हिमपात हुँदा मुस्ताङका अन्य क्षेत्रमा निरन्तर वर्षा भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij