काठमाडौं : बाढीबाट क्षतिग्रस्त रसुवागढी–केरुङ नाका तत्काल पुनः सञ्चालन गर्न सरकारले चीनसँग सहयोग मागेको छ । शुक्रबार सिंहदरबारमा नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङसँग भएको भेटवार्तामा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले रसुवागढी नाका सञ्चालन तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि चिनियाँ सहयोग आवश्यक रहेको बताएका हुन्।
भोटेकोसीमा आएको बाढीले नेपालको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएपछि तत्कालका लागि पुरानै स्थानबाट अस्थायी सडक तथा यातायात सञ्चालन गरी स्थानीयलाई राहत दिने गरी काम भइरहेको मन्त्री लम्सालले जानकारी दिए ।
उनले स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन चीनको सहयोग आवश्यक रहेको बताए । साथै, काठमाडौं–रसुवागढी–केरुङ सडकको दीर्घकालीन विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी आवश्यक स्थानमा ट्रयाक खोल्ने काम अघि बढाइएको जानकारी दिए ।
मन्त्री लम्सालले कोरला र तातोपानी नाका प्रभावकारी रूपमा सञ्चालन गर्न पनि चीन सरकारको सहयोग आवश्यक रहेको बताए । भेटमा चिनियाँ राजदूत वाङले चीन असल छिमेकीका रूपमा नेपाललाई हरसम्भव सहयोग गर्न तयार रहेको बताए । रसुवागढी नाकाको पुनर्निर्माण र सञ्चालनका लागि विशेष अध्ययन गरी दीर्घकालीन तथा प्रभावकारी पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
कोरला र तातोपानी नाका सञ्चालनका लागि चीन सकारात्मक रहेको बताउँदै राजदूत वाङले रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनसम्बन्धी विशेष प्रस्ताव नेपाल सरकारले पठाए आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
गत भदौ १० गते बिहान आएको भीषण भोटेकोशी बाढीले रसुवाको रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, मैलुङलगायत क्षेत्रसँगै भोटेकोशी–त्रिशूली नदी करिडोरका बस्ती र पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो ।
बाढीको प्रभाव रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासी पूर्व–पश्चिमसम्म देखिएको थियो । पछिल्लो सरकारी विवरणअनुसार सेप्टेम्बर २० सम्म बाढीमा १ हजार ४५१ जनाको मृत्यु भएको छ भने ५ हजार ७८६ जना अझै सम्पर्कविहीन छन् । बाढीले सडक, पुल, प्रहरी कार्यालय, बजार क्षेत्र, जलविद्युत आयोजना तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ ।
यता चीनतर्फ पनि हालसम्म ३१ जनाको मृत्यु पुष्टि भएको छ भने ५३१ जना बेपत्ता रहेका छन् ।
बाढीले केरुङ बन्दरगाह, भवन, विद्युत् आपूर्ति तथा बन्दरगाहतर्फ जाने जी–२१६ राजमार्गको एक खण्डमा क्षति पुर्याएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij