काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको महासभामा भएको सम्बोधनबारे पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाको प्रतिक्रिया मागेका छन् ।
शाहीले प्रधानमन्त्री शाहको सम्बोधनबारे तीनै पूर्वप्रधानमन्त्रीबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआएको भन्दै प्रश्न गरेका हुन् ।
'संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको सम्बोधनबारे पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाजीबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएन । किन होला ?', उनले भनेका छन् ।
यद्यपि, प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनबारे विभिन्न दलका कतिपय नेताहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले सम्बोधन कुनै दल विशेषको नभई समग्र नेपालको प्रतिनिधित्व गर्ने बताएका थिए । एमाले उपमहासचिव योगेश भट्टराई, नेकपाका प्रवक्ता प्रकाश ज्वाला र जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले पनि सम्बोधनमा नेपालले विश्वमञ्चमा उठाउनुपर्ने महत्त्वपूर्ण विषय समेटिएको प्रतिक्रिया दिएका थिए ।
यसैगरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्बोधनको समग्र अन्तर्वस्तु र प्रस्तुति सही रहेको बताएका छन् भने एमाले नेता गोकुल बास्कोटाले बालेनले राष्ट्रसंघमा देशको भावना बोलेको भन्दै समर्थन जनाएका थिए ।
शाहीले यसअघि पनि प्रधानमन्त्री शाहको सम्बोधनले नेपाली जनतामा आशा र उत्साह जगाएको प्रतिक्रिया दिएका थिए ।
'सम्माननीय प्रधानमन्त्रीज्यूले राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर प्रस्तुत गर्नुभएको सम्बोधनले नेपाली जनताको मनमा आशा र उत्साह जगाएको छ। यो केवल सम्बोधन होइन, समृद्ध, स्वाभिमानी र शान्त नेपाल निर्माणको एउटा सुन्दर सपना पनि हो। सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यवाद तथा सफलताको शुभकामना। आज साँच्चिकै हरेक नेपालीको मनमा उत्सवको अनुभूति भएको छ', उनले भनेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij