पर्वत : तीन दिनदेखि भइरहेको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च बनेको छ।
उर्लिएको कालीगण्डकीले बगाएर ल्याएका ढुङ्गा, मुढा र दाउरा निकाल्न पर्वतको मालढुङ्गास्थित माझी बस्तीका स्थानीयवासी ज्यानको प्रवाह नगरी तँछाडमछाड गरिरहेका छन्।
बाढीसँगै बगेर आएका दाउरा जम्मा गर्न शनिबार बिहानैदेखि नदी किनारमा स्थानीयको भीड लागेको छ। लौरोमा अङ्कुशे बनाएर त्यसैको सहायताले नदीबाट मुढा निकालिरहेका उनीहरूलाई प्रहरीले सिट्ठी बजाउँदै सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ।
प्रहरीको चेतावनी र आग्रहलाई बेवास्ता गर्दै उनीहरू आफ्नै धुनमा दाउरा संकलनमा व्यस्त देखिन्छन्।
नदी बस्तीमै पस्ने जोखिम बढ्दा पनि स्थानीयवासीलाई खासै चासो छैन। कालीगण्डकीलाई नै चुनौती दिँदै एक स्थानीयले भने, ‘यो नदी अहिलेसम्म बस्तीमा पसेकै छैन, हामी यहाँ बस्न लागेको वर्षौँ भइसक्यो।’
बागलुङ र पर्वत जोड्ने कालीगण्डकी पुलछेउ र माझी बस्तीकै आडमा उनीहरूले संकलन गरेका दाउरा र मुढाको चाङ लगाएका छन्। कतिपय स्थानीयहरू भने त्यही दाउराका लागि आपसमा झगडासमेत गरिरहेका भेटिन्छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij