वासिङ्टन : अमेरिकाले डिजेल निर्यात घटाउने वा अस्थायी रूपमा रोक्ने विकल्पमाथि छलफल अघि बढाएपछि विश्व बजारमा इन्धन आपूर्तिमा दबाब पर्न सक्ने देखिएको छ। ऊर्जा विज्ञहरूले अमेरिकी निर्यातमा कमी आए अन्तर्राष्ट्रिय बजारमा डिजेलको मूल्य बढ्न सक्ने चेतावनी दिएका छन्।
अमेरिका विश्वकै प्रमुख डिजेल निर्यातकर्तामध्ये एक हो। पछिल्लो समय भने अमेरिकामै डिजेलको मूल्य र मौज्दातमा दबाब देखिएको छ। सेप्टेम्बर २५ मा अमेरिकी बजारमा डिजेलको औसत मूल्य प्रतिग्यालन ६.५० डलर पुगेको थियो। अमेरिकी डिजेल भण्डार पनि चार दशकभन्दा बढी समययताकै न्यून तहमा पुगेको जनाइएको छ।
बढ्दो मूल्य नियन्त्रण गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन र रिपब्लिकन सांसदहरूले निर्यात कटौती वा प्रतिबन्धको विकल्पबारे छलफल गरिरहेका छन्। ऊर्जा सचिव क्रिस राइटले प्रमुख तेल प्रशोधन कम्पनीसँग स्वैच्छिक निर्यात कटौतीबारे छलफल गरिरहेको बताइएको छ। केही सांसदले निश्चित अवधिका लागि निर्यात रोक्नुपर्ने प्रस्तावसमेत अघि सारेका छन्।
तर अमेरिकी सरकारले अहिलेसम्म यससम्बन्धी औपचारिक निर्णय गरेको छैन। ह्वाइट हाउसले राष्ट्रपतिले सबै विकल्पमाथि विचार गरिरहेको जनाएको छ।
ऊर्जा विश्लेषकहरूका अनुसार निर्यात रोक्दा अमेरिकी बजारमा तत्काल आपूर्ति बढे पनि दीर्घकालमा रिफाइनरीहरूले उत्पादन घटाउनुपर्ने अवस्था आउन सक्छ। यसले अमेरिका र अन्तर्राष्ट्रिय दुवै बजारमा इन्धन आपूर्तिमा असर पार्न सक्ने उनीहरूको विश्लेषण छ।
अमेरिकी डिजेलमा निर्भर युरोप र ल्याटिन अमेरिकी देशहरूले वैकल्पिक स्रोत खोज्नुपर्ने अवस्था आए विश्व बजारमा प्रतिस्पर्धा बढ्नेछ। त्यसले डिजेलको मूल्य थप उकालो लाग्न सक्ने जोखिम छ।
रुस–युक्रेन युद्ध, अमेरिका–इरान तनाव तथा केही प्रमुख रिफाइनरीमा देखिएको अवरोधका कारण विश्व बजारमा इन्धन आपूर्ति यसअघि नै दबाबमा छ। यस्तो अवस्थामा अमेरिकी निर्यातमा थप कमी आए त्यसको असर ढुवानी, उद्योग तथा हवाई सेवाको लागतमा समेत पर्न सक्ने विश्लेषकहरूले बताएका छन्।
हाल अमेरिकी प्रशासनले निर्यात प्रतिबन्धबारे अन्तिम निर्णय गरिसकेको छैन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij