म्याग्दी : कालीगण्डकी नदीको बाढीले म्याग्दीको सदरमुकाम बेनी बजारमा कटान गर्न थालेको छ । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरिका कारण आज बिहानदेखि बाढीले बेनी बजारतर्फ कटान गर्न थालेको हो ।बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार गणेशटोलको पछाडी कालीगण्डकी नदी किनारमा निर्माण गरिएको पक्की पर्खाल बाढीले भत्काएर बस्तीतर्फ कटान गर्न थालेको हो । करिब १०० मिटर तटबन्ध बाढीले भत्काएर कटान गरेको हो । तटबन्ध र कुनातर्फ बनाइएको सडक बाढीले भत्काएको छ ।
जोखिममा परेका घरका बासिन्दा र सामानलाई सुरक्षित ठाउँमा सार्न थालिएको छ । उक्त ठाउँमा जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजनामार्फत कम्पोजित प्रविधिको पर्खाल र सघन सहरी विकास आयोजनाले बेनी चक्रपथ सडक बनाएका थिए । कालीपुलका बासिन्दाहरु राति नै म्याग्दी बहुमुखी क्याम्पसको भवनमा आएर बसेका थिए । थप क्षति हुन नदिनका लागि उच्च सतर्कता अपनाइएको छ ।बेनी–७ र ८ मा पर्ने बेनी बजारमा ५०० भन्दा बढी परिवारको बसोबास छ । बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा बाढीको सतहले खतराको तह पार गरेको छ । सदरमुकाम बेनीदेखि प्रदेश र सङ्घीय राजधानी जोड्ने मालढुङ्गा बेनी सडक अवरुद्ध छ । शनिबार रातिदेखि विद्युत् आपूर्ति बन्द भएको छ । बेनीमा खानेपानीको आपूर्ति हुन सकेको छैन । बेनीदेखि ग्रामीण क्षेत्र जोड्ने सडक पनि अवरुद्ध भएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij