चितवन : चितवनमा शारीरिक सुगठन तथा फिटनेस खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घको तत्वावधानमा चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस सङ्घको आयोजनामा ‘दोस्रो मिस्टर चितवन, प्रथम पुरुष स्पोर्टस् फिजिक्स तथा दोस्रो महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता–२०८३’ आयोजना गर्न लागिएको हो।
प्रतियोगिता आगामी असोज १६ र १७ गते भरतपुरमा सञ्चालन हुनेछ। भरतपुरस्थित सीएमटी रिसोर्ट, हाकिम चोकमा असोज १६ गते बिहान १० बजेदेखि प्रतियोगिता सुरु हुने आयोजकले जनाएको छ।
मिस्टर चितवन शारीरिक सुगठनतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीभन्दा माथिका गरी छ वटा तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पुरुष स्पोर्टस् फिजिक्स र महिला एथलेटिक्स फिजिक्स विधामा पनि देशभरका खेलाडी सहभागी हुने आयोजकको अपेक्षा छ।
प्रत्येक तौल समूहका उत्कृष्ट पाँच खेलाडी फाइनल चरणमा प्रवेश गर्नेछन्। तौल समूहका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगिताको मुख्य आकर्षण ‘मिस्टर चितवन’ उपाधि रहनेछ। उपाधि विजेताले ट्रफी र पदकसँगै १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। महिला एथलेटिक्स फिजिक्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी खेलाडीको तौल तथा उचाइ मापन असोज १६ गते बिहान ९ बजे कार्यक्रमस्थलमै गरिनेछ। खेलाडीले प्रवेश शुल्कबापत दुई हजार रुपैयाँ बुझाउनुपर्नेछ। प्रतियोगितालाई निष्पक्ष र व्यवस्थित बनाउन आयोजकले नियम तथा आचारसंहिता लागू गरेको जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताका लागि करिब २१ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ। विभिन्न व्यावसायिक संस्था तथा स्थानीय तहको सहकार्यमा आयोजना हुने प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिकाका प्रमुख चित्रसेन अधिकारीले गर्ने कार्यक्रम छ।
आयोजकले प्रतियोगितामा खेलाडी, प्रशिक्षक, खेलप्रेमी, सञ्चारकर्मी तथा सर्वसाधारणलाई उपस्थित भई प्रतियोगिताको उत्साह बढाउन आग्रह गरेको छ।