Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

भरतपुरमा गुडिरहेको ईभी कारमा आगलागी, चालकको मृत्यु; प्राविधिक छानबिन सुरु

भरतपुरमा गुडिरहेको ईभी कारमा आगलागी, चालकको मृत्यु; प्राविधिक छानबिन सुरु

 चितवन :  गत भदौ २६ गते बिहान चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय (ईभी) कारमा अचानक आगलागी हुँदा एक जनाको मृत्यु भएको घटनाको प्रहरीले प्राविधिक अनुसन्धान अगाडि बढाएको छ ।भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै पूर्व–पश्चिम राजमार्गको सर्भिसलेनमा भएको उक्त अकल्पनीय दुर्घटनामा परी आफ्नै घरमा किराना पसल सञ्चालन गर्दै आएका भरतपुर–१२ का ५६ वर्षीय अमर पराजुलीको ज्यान गएको थियो । 

बिहान करिब ६ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बाप्र–०१–०३० च ५५७९ नम्बरको उक्त ईभी कार गुडिरहेकै अवस्थामा आगोको लप्कामा परिणत भएको थियो । चीनको प्रख्यात ग्वाङझाउ अटोमोबाइल ग्रुपद्वारा उत्पादित र नेपालमा सीजी मोटर्सद्वारा आयातित ‘जीएसी आयोन’ ब्राण्डको उक्त कारभित्र रहेका चालक पराजुली बाहिर निस्कन नपाएरै बिते ।

स्थानीयहरूले आगो दन्किरहेको अवस्थामा कार रोक्न आग्रह गरे पनि नियन्त्रण बाहिर पुगेको गाडी सडकको डिभाइडरमा आएर ठोक्किएको थियो । पछि सुरक्षाकर्मी र दमकलको प्रयासमा आगो नियन्त्रणमा लिइए पनि चालक पराजुलीलाई बचाउन सकिएको थिएन ।

यस गम्भीर घटनाको यथार्थ पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय चितवनले प्राविधिक टोली झिकाउने प्रक्रिया अगाडि बढाएको छ । चितवनका डीएसपी चन्द्र भूषण यादवका अनुसार गाडीको प्राविधिक पक्षको परीक्षण गर्नुपर्ने भएकाले विज्ञ टोली माग गर्दै करिब दुई हप्ता अगाडि नै सम्बन्धित विभागमा पत्राचार गरिएको छ । ‘यो पूर्ण रूपमा प्राविधिक विषय भएकाले प्राविधिक टोलीबाटै जाँच गराउनुपर्ने हुन्छ, त्यसैले हामीले विभागलाई लेखेका छौँ,’ डिएसपी यादवले भने । नेपालमा उपलब्ध विज्ञहरू ल्याउने वा पछि कम्पनीकै प्राविधिक मगाउने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

डिएसपी यादवका अनुसार घटनाको विषयमा आयातकर्ता कम्पनीसँग सामान्य सोधपुछ र कुराकानी भइरहेको भए पनि कम्पनीको तर्फबाट अनुसन्धानकै लागि भनेर प्राविधिक टोली भने आइसकेको छैन । जाहेरी दर्ता लगायतका कानुनी प्रक्रियाहरू पूरा भइसकेको र प्रहरीले आफ्नो तर्फबाट गरिने अन्य अनुसन्धानलाई आफ्नै गतिमा निरन्तरता दिइरहेको उनले बताए । अब प्राविधिक टोलीको विज्ञ रिपोर्ट आएपछि मात्रै गाडीमा अचानक आगलागी हुनुको मुख्य कारण खुल्ने प्रहरीको भनाइ छ ।

अटोमेडेट फिचर माथि प्रश्न

यस घटनाले  विद्युतीय सवारी साधनको सुरक्षा, तिनका स्वचालित (अटोमेटेड) फिचर र प्राविधिक पक्षलाई लिएर गम्भीर प्रश्नहरू उब्जाएको छ । यसअघि चीनमा पनि जीएसी आयोनका केही कारहरूमा गुडिरहेको अवस्थामा आगलागीका घटना बाहिर आएका थिए, जहाँ ब्याट्री सेल फुल्ने, लिकेज हुने र पावर सिस्टममा गडबडी देखिने जस्ता समस्या औंल्याइएको थियो ।

लामो समयदेखि चर्चित ईभी कम्पनीहरूमा टेक्निकल हेडको रूपमा काम गरेका एक विज्ञका अनुसार आधुनिक चिनियाँ ईभीहरूमा रहेका जटिल स्वचालित फिचरहरूले बेलाबेलामा अनपेक्षित समस्या निम्त्याउने गरेका छन् ।  ‘भरतपुरको घटनामा पनि समयमै डोर ओपनभएको  भए सायद चालकको ज्यान बचाउन सकिन्थ्यो होला भन्ने प्राविधिक अनुमान गरिएको छ । तर आधिकारिक र वैज्ञानिक पुष्टि हुन बाँकी छ,’ उनले रातोपाटीसँग भने ।

धेरै उपभोक्ताहरू गाडी खरिद गर्दा त्यसका सम्पूर्ण प्राविधिक तथा अटोमेसन प्रणालीबारे राम्ररी अध्ययन नगरिकनै प्रयोग गर्ने प्रवृत्तिले पनि समस्या थपिरहेको विज्ञहरूको ठम्याइ छ । ईभीमा आगलागीको घटनाहरूमा नेपालमा अब यस्ता प्रत्येक आगलागीका घटनाहरूको निष्पक्ष र प्राविधिक छानबिन गर्न अनिवार्य भइसकेको प्रयोगकर्ताहरू तर्क छ ।

ईभीबारे अध्ययन गरिरहेका र प्रयोगकर्ता समेत रहेका रोशन तामाङ भन्छन्, ‘उच्च भोल्टेज ब्याट्रीप्याकको अवस्था, ब्याट्री सेलको केमिस्ट्री, ब्याट्री म्यानेजमेन्ट सिस्टम, चार्जिङ पोर्ट र केबल, घर वा स्टेसनको इलेक्ट्रिकल तारिङ, फ्यूज तथा कनेक्टरहरू, गाडी पानी वा बाढीको सम्पर्कमा आएको थियो वा थिएन, आगो सुरु भएको वास्तविक बिन्दु कुन हो, र थर्मल रनवेका प्राविधिक प्रमाणहरू छन् वा छैनन् भन्नेजस्ता विषय अध्ययन गर्नुपर्ने हो तर नेपालमा घटना भएपछि यत्तिकै सेलाउँछ,’ उनी भन्छन् । 

उनले ‘जीएसी आयोन’ पनि गाडीमा हुनसक्ने प्राविधिक गडबढीबारे अनुमान गर्दै भने, ‘घटना हेर्दा यो गाडीको विभिन्न फिचरहरूबारे प्रश्न उठेको छ । यसअघि चीनमा पनि यो गाडी आगलागीको घटना बाहिर आएको छ । यसबारे उपभोक्ता र  सरकारले पनि सचेत रुपमा हेर्ने बेला भइसकेको छ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij