Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

गण्डकी मेडिकल कलेजका विद्यार्थीलाई कक्षा र परीक्षाबाट ननिकाल्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

गण्डकी मेडिकल कलेजका विद्यार्थीलाई कक्षा र परीक्षाबाट ननिकाल्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश


काठमाडौं : सर्वोच्च अदालतले गण्डकी मेडिकल कलेज (पोखरा) मा अध्ययनरत विद्यार्थीलाई कक्षा, छात्रावास (होस्टेल) तथा क्लिनिकल पोस्टिङबाट ननिकाल्न र परीक्षा फाराम भर्न अवरोध नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।विद्यार्थी आश्रयबहादुर सिंहसमेतले गण्डकी मेडिकल कलेजलाई विपक्षी बनाएर दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो । सर्वोच्च अदालतले विद्यार्थीहरूको शिक्षाको हकसँग प्रत्यक्ष सम्बन्धित विषय भएको उल्लेख गर्दै अन्तरिम आदेशको टुङ्गो नलागुञ्जेलसम्म कलेज प्रशासनले जारी गरेको २०७८ पुस १८ गतेको परिपत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको छ ।

अदालतले विद्यार्थीहरूको कक्षा उपस्थितिमा कुनै किसिमको रोक नलगाउन, भर्ना फाराम रद्द गर्ने वा गराउने कार्य नगर्न तथा नगराउन आदेश दिएको छ । साथै मेडिकल कलेज, छात्रावास वा क्लिनिकल पोस्टिङबाट निष्कासन गर्ने कार्य नगर्न तथा नगराउन कलेजका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।परीक्षा फाराम भर्ने सूचनाअनुसार विद्यार्थीलाई निर्बाध रूपमा फाराम भर्न दिन र कुनै पनि प्रकारको अवरोध सिर्जना नगर्न पनि अदालतले आदेश दिएको छ ।अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा दुवै पक्षलाई राखी छलफल गर्न उपयुक्त देखिएकाले अदालतले आगामी २०८३ असोज २३ गतेका लागि पेशी तोकेको छ ।रिट निवेदकका मागबमोजिम आदेश किन जारी हुनु नपर्ने हो भन्दै अदालतले विपक्षी गण्डकी मेडिकल कलेजका नाममा १५ दिने कारण देखाऊ आदेशसमेत जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij