धादिङ : लगातारको वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरो तथा सडक भासिने लगायतका अवरोध हटाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
हाल केही स्थानमा एकतर्फी रूपमा सवारी आवागमन सञ्चालन भइरहेको भन्दै प्रशासनले थप पहिरो तथा अवरोध नआए बुधबार असोज १४ गते दिउँसो १ बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने जनाएको हो।
जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार साँझ जारी गरेको सूचनामा वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेको र जुनसुकै समयमा पहिरो खस्न सक्ने सम्भावना रहेको उल्लेख गरेको छ।
प्रशासनले चालक, यात्रु तथा सर्वसाधारणलाई अत्यन्त सावधानीपूर्वक यात्रा गर्न तथा सडक प्रयोग गर्दा प्रचलित ट्राफिक नियम र सडक अनुशासन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।
सडकको अवस्था र प्रशासनको सूचनालाई ध्यानमा राखेर मात्र यात्रा गर्नसमेत अनुरोध गरिएको छ। धादिङ प्रशासनले आवश्यक समन्वय तथा सहयोगका लागि प्रहरी हटलाइन १००, सशस्त्र प्रहरी १११४ लगायतका सम्पर्क नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।