Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

जडीबुटी कम्पनीका ज्यालादारी कर्मचारी २० दिनदेखि आन्दोलनमा, उत्पादन बन्द

जडीबुटी कम्पनीका ज्यालादारी कर्मचारी २० दिनदेखि आन्दोलनमा, उत्पादन बन्द

काठमाडौँ :   सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी २० दिनदेखि आन्दोलनरत छन्।सामाजिक सुरक्षाकोष लागू गर्नुपर्ने, चाडपर्व भत्ता दिनुपर्ने र श्रम अदालत भक्तपुरले गरेको फैसला कार्यान्वयनको माग गर्दै गत भदौ २४ गतेदेखि मासिक ज्यालादारीअन्तर्गत कार्यरत कर्मचारी आन्दोलित छन्।


यसरी आन्दोलित हुनेमा अधिकांश उत्पादन शाखाका कर्मचारी रहेकाले असोज ५ गतेदेखि उत्पादन नै बन्द भएको छ। उनीहरूले भदौ २४ गतेदेखि कालोपट्टी बाँधेर काम गरेका थिए। तर अन्य कर्मचारीसरह सुविधा दिन व्यवस्थापनले आनाकानी गरेपछि करिब ३० जना कर्मचारीले असोज ५ गतेदेखि नियमित धर्ना बसिरहेका छन्।  

२३ वर्षदेखि कम्पनीमा कार्यरत दोलखाकी सुस्मिता गौतमले सामाजिक सुरक्षाका सेवासुविधा नपाएको र पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको बताइन्।

‘२३ वर्षदेखि काम गर्दा पनि सेवासुविधा पाएका छैनौँ। नआएको दिनको पैसा काटिन्छ। हामीले राखेको माग सुनुवाइ पनि भएको छैन। केही हुन्छ भनेर यसरी धर्ना बस्नुपरेको छ’, उनले भनिन्। आफूहरूको काममा फर्कने चाहना भए पनि मागमा बेवास्ता गरिएको उनको भनाइ छ। आफूहरूको माग पूरा नहुँदासम्म धर्नालाई निरन्तरता दिने उनले बताइन्।

सेवासुविधाको माग गर्दै कम्पनीमा कार्यरत गौतमसहित २२ जनाले २०७८ चैत १७ र २०७९ असार ८ गते श्रम तथा रोजगार कार्यालय काठमाडौँमा निवेदन दर्ता गराएका थिए। कार्यालयले २०८० जेठ ४ मा श्रमिकको पक्षमा निर्णय गरेको थियो। त्यसपछि जडीबुटी कम्पनी २२ जना कर्मचारीविरुद्ध पुनरावेदन लिएर श्रम अदालत भक्तपुर पुगेको थियो।

अदालतले पनि मासिक न्यूनतम पारिश्रमिक, सञ्चयकोष, उपदान, विरामी बिदालगायत सेवासुविधा प्राप्त गर्नुपर्ने भन्दै २०८१ जेठमा कर्मचारीको पक्षमा फैसला सुनाएको थियो। तर अदालतको आदेश कार्यान्वयन नगरेको, मागमा बेवास्ता गरेको भन्दै कर्मचारी चाडपर्वको मुखमा धर्ना बसेका हुन्। उनीहरू बिहान १० बजे हाजिर गर्ने र कार्यालय समयमा धर्ना बस्ने गरेका छन्।

उनीहरूले यो विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, टेकुस्थित श्रम तथा रोजगार कार्यालयलाई पनि जानकारी गराएका छन्। उनीहरूले माग पूरा गर्न र पूरा नभएमा आन्दोलन थाल्ने भन्दै कम्पनीका महाप्रबन्धकलाई गत भदौ १८ मा पत्र लेखेका थिए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij