भरतपुर : चितवन उद्योग संघ, गभर्निङ काउन्सिलको बाह्रौं बार्षिक साधारण सभा एवं छैटौं अधिवेशन सकिए लगत्तै बसेको पूर्व अध्यक्षहरुको सभाले संघका पूर्व अध्यक्ष राजु पौडेललाई ०८३/०८५ कार्यकालका लागि गभर्निङ काउन्सिलको छैटौं अध्यक्षको रुपमा सर्वसम्मत चयन गरेको छ । सभाले ०८३/०८५ कार्यकालका अध्यक्ष, निवर्तमान अध्यक्ष र ५ सदस्य गरी ७ सदस्यीय कार्यसमिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ ।
चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभा तथा अधिवेशनमा चितवन उद्योग संघका संस्थापक अध्यक्ष दिलबहादुर ताम्राकार प्रमुख अतिथि रहनुभएको थियो ।
चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष भेषराज दुवाडीले स्वागत मन्तव्य सहित वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, संघका पूर्व अध्यक्षहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
त्यस्तै कार्यक्रम अन्तर्गत पूर्व अध्यक्ष मण्डलको छैटौं भेला संस्थापक अध्यक्ष दिल बहादुर ताम्राकारको अध्यक्षतामा सम्पन्न भएको थियो । ताम्राकारको अध्यक्षतामा सम्पन्न पूर्व अध्यक्ष मण्डलको भेलाबाट गभर्निङ काउन्सिलको नयाँ समिति समेत चयन भएको हो ।
चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष गजेन्द्र अधिकारी प्रमुख निर्वाचन अधिकृत रहनु भएको निर्वाचन समितिको सदस्यहरुमा संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल रहनु भएको थियो । प्रमुख निर्वाचन अधिकृत अधिकारीले नवनिर्वाचित कार्यसमितिको नामावली घोषणा गर्नुभएको थियो । नवनिर्वाचित काउन्सिलको अध्यक्षमा राजु पौडेल, सदस्यहरुमा गुणाकर खरेल, सोमराज महरट्टा, हरिप्रसाद सुवेदी, तारा प्रसाद पौडेल, त्रिलोचन कँडेल रहनु भएको छ ।
नवनिर्वाचित गभर्निङ काउन्सिलका अध्यक्षलाई पूर्व अध्यक्ष मण्डलका अध्यक्ष एवम् संघका संस्थापक अध्यक्ष दिल बहादुर ताम्राकारले र अन्य सदस्यहरुलाई नवनिर्वाचित अध्यक्ष राजु पौडेलले सपथ खुवाउनु भएको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई गभर्निङ काउन्सिलका नवनिर्वाचित अध्यक्ष राजु पौडेलले धन्यवाद एवम् प्रतिवद्धता मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij